प्रशिक्षकबिना क्रिकेटमा अब्बल ‘कञ्चनपुर’

प्रशिक्षकबिना क्रिकेटमा अब्बल ‘कञ्चनपुर’

  • बुधबार, मंसिर १३, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.8K
    SHARES

महेन्द्रनगर (कञ्चनपुर), १३ मङ्सिर : राष्ट्रिय खेलकुद परिषद्बाट कहिल्यै क्रिकेट प्रशिक्षक नपाएको कञ्चनपुर राष्ट्रियस्तरमा भने यहाँका क्रिकेट खेलाडीले बनाएको छविले परिचित छ । यहाँ क्रिकेटको खेल इतिहासमै पुराना र सिनियर राष्ट्रिय खेलाडीले स्वयंसेवक प्रशिक्षकका रुपमा काम गर्दै आएका भरमा प्रतिभावान् खेलाडी उत्पादन निरन्तर हुँदै आएको छ ।

पछिल्लो समय कञ्चनपुर घर भएका राष्ट्रियस्तरका खेलाडीहरुले गरिरहेको उत्कृष्ट प्रदर्शनले गृहजिल्लामा क्रिकेटप्रतिको माहोल थप उत्साही छ । जिल्ला खेलकुद समितिअन्तर्गत १७ विभिन्न खेलका प्रशिक्षक हाल कार्यरत रहे पनि क्रिकेटले भने यहाँ प्रशिक्षक देख्नसमेत पाएको छैन ।

कञ्चनपुर क्रिकेट सङ्घका अध्यक्ष वीरेद्रबहादुर चन्दले पछिल्लो समय जिल्लाभर क्रिकेट खेलको गतिविधिले तीव्रता पाउँदै गएको बताउनुभयो । कीर्तिमानी खेलाडी दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, भीम सार्की र विनोद भण्डारीजस्ता अन्तराष्ट्रिय रुपमै परिचित खेलाडीको गृहजिल्ला कञ्चनपुरमा क्रिकेटको भौतिक संरचनाको अवस्था सामान्य भए पनि गतिविधिले भने बढावा पाएको उहाँको भनाइ छ ।

सुदूरपश्चिमको नौ जिल्लामध्ये कञ्चनपुर क्रिकेट उत्पादनको केन्द्रका रुपमा परिचित पनि छ । हाल महेन्द्रनगरमा क्रिकेट सङ्घको समन्वयमा सिनियर खेलाडीले स्वयंसेवक प्रशिक्षकका रुपमा खेलाडी उत्पादन गरिरहेका छन् । सङ्घका अध्यक्ष चन्दले विभिन्न पालिकामा क्रिकेट प्रतियोगिता सङ्घसित समन्वयमा भइरहेको जानकारी दिनुभयो ।

“क्रिकेटको चर्चापछि पनि यहाँ खेलप्रतिको आर्कषण बढ्नुका साथै सबैतिर पालिकाको समन्वयमा गतिविधि बढेका छन्”, अध्यक्ष चन्दले भन्नुभयो, “नौवटै पालिकामा स्थानीय तहसँगको समन्वयमा क्रिकेट प्रशिक्षणलाई अगाडि बढाउने गरीसमेत योजना बनाएका छौँ ।”

जिल्ला खेलकुद विकास समितिको परिसरमा क्रिकेट मैदान निर्माणको काम चालु आर्थिक वर्षमा भने अघि बढ्न सकेको छैन । सङ्घका अध्यक्ष चन्दले रातो किताबमा परेको क्रिकेट मैदानलाई अघि बढाउन चालु आवमा सरकारले बजेट विनियोजन नगरेको गुनासो गर्नुभयो ।

“जिल्लामा अन्यत्र पनि केही ठाउँमा क्रिकेट मैदान बनाउने सुरसार देखिए पनि सदरमुकामको निर्माणाधीन मैदान अलपत्र छ”, उहाँले भन्नुभयो, “क्रिकेटप्रति नयाँ खेलाडीको आर्कषणलाई पनि हामीले ध्यान दिएर सोहीअनुसार संरचना निर्माणदेखि खेलकुद सामग्रीको व्यवस्थापन गर्नुछ ।”

चीनमा सम्पन्न १९औँ एशियाली खेलुकदमा टी–२० किक्रेटमा कञ्चनपुरका खेलाडी दीपेन्द्रसिंह ऐरीले मङ्गोलियाविरुद्धको खेलमा ऐतिहासिक कीर्तिमान बनाएका थिए । ऐरी हाल नेपाल प्रहरीको क्रिकेट टिमका कप्तानसमेत हुनुहुन्छ । गत भदौमा नेपालका तर्फबाट एशियन कपमा भारत र पाकिस्तानसित उत्कृष्ट प्रदर्शनपछि पनि मुलुकमा क्रिकेटको माहोलले बजार पाएको बुझाइ छ ।

अध्यक्ष चन्दका अनुसार महेन्द्रनगरमा अहिले वडास्तरीय क्रिकेट प्रतियोगिता जारी छ । भने बेदकोट, कृष्णपुरको गुलरिया, पुर्नर्वासमा समेत सङ्घसँगको समन्वयमा क्रिकेट आयोजना भएको बताउनुभयो ।

त्यसका साथै वडा कार्यालयको अग्रसरतामा शुक्लाफाँटा नगरपालिका–१ र भीमदत्त नगरपालिका–१२ मा समेत ठूलो धनराशिको क्रिकेट आयोजना भइसकेको छ । “नेपाली जुनियर र सिनियर टिममा सुदूरपश्चिमको उपस्थिति राम्रै रहँदै आएको छ”, अध्यक्ष चन्दले भन्नुभयो, “ खेलाडीको उर्वरभूमि भए पनि मलजल राज्यबाट भएन ।”

कञ्चनपुर जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टले कञ्चनपुर जिल्लाले अहिलेसम्म पनि केन्द्रबाट क्रिकेट प्रशिक्षक नपाएको बताउनुभयो । “राष्ट्रिय खेलकुद परिषद्बाट हामीले अहिलेसम्म क्रिकेट प्रशिक्षक देख्न नपाए पनि राज्यका लागि प्रतिभावान् खेलाडी दिइरह्यौँ”, उहाँले भन्नुभयो, “तर यहाँका सिनियर खेलाडीले लामो समय स्वयंसेवक प्रशिक्षक भएर खेलाडी उत्पादनलाई निरन्तरता दिनुभयो ।”

कञ्चनपुरमा हाल विभिन्न खेलका १७ प्रशिक्षक कार्यरत छन् भने ३१ सङ्घ दर्ता छन् । पछिल्लो समय यहाँ स्थानीय तह र वडा कार्यालय नै अग्रसर भएर क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी