मुगु, कात्तिक १३ गते । मुगुस्थित छायाँनाथ रारा नगरपालिका वडा नं – ६ मन्दु गाउँमा सामूहिक हत्या भएको चार दिनपछि प्रहरीले एक जना शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ । आइतबार दिउँसो अन्दाजी १२ बजेको समयमा जिल्ला सदरमुकाम गमगढीस्थित बिच बजारबाट प्रहरीले शंकास्पत ती व्यक्तिलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले अनुसन्धान प्रभावित हुने भएकाले ती पक्राउ परेका व्यक्तिको विस्तृत विवरण सार्वजनिक गरेको छैन ।
जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले हत्यारा अनुसन्धानका लागि घटना स्थलमा ११ गते नै कर्णाली प्रदेश कार्यालयको समन्वयमा घटनाको सूक्ष्म अनुसन्धानका लागि जुम्ला, कोहलपुर र कर्णाली प्रदेश प्रहरी कार्यालयबाट विशेष अनुसन्धान टोली मुन्दु पुगेर अनुसन्धान गरिरहेको छ ।
यसै बिच कर्णाली प्रदेश प्रहरी प्रमुख भीम ढकाल आइतबार मुगु पुगेका छन् । अनुसन्धानमा भएका प्रगति बुझ्न र अनुसन्धानलाई थप सहयोग गर्न ढकाल मुगु पुगेका हुन् । प्रदेश प्रहरी प्रमुख ढकाललाई प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले घटनास्थलको स्थलगत भ्रमणमा सघाइरहेका छन् प्रहरी कार्यालय मुगुले जानकारी दिएको छ ।
घटना स्थलमा शनिवार नै विशेष टोली जुम्ला र कोहलपुरबाट तालिमप्राप्त कुकुरसहितको प्रहरीको अनुसन्धान टोली मुगुको मुन्दु गाउँमा पुगेको थियो ।