सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ चीन भ्रमणमा गएका छन्। प्रधानन्यायाधीश श्रेष्ठ नेतृत्वको ६ सदस्यीय टोली चीनको सुप्रिम पिपुल्स कोर्ट अफ चाइनाका अध्यक्षको निमन्त्रणामा एक सातालामो भ्रमणका लागि चीन गएको हो।
प्रधानन्यायाधीशको टोलीले यही कात्तिक १५ देखि १७ गतेसम्म चीनको सुप्रिम पिपुल्स कोर्ट अफ चाइनाको औपचारिक भ्रमण गर्ने कार्यक्रम छ।
प्रधानन्यायाधीश श्रेष्ठ नेतृत्वको भ्रमण टोलीमा उनकी पत्नी रोशनी अमात्य श्रेष्ठ, न्यायाधीश डा।आनन्दमोहन भट्टराई र उनकी पत्नी पुष्पा भट्टराई, सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार लालबहादुर कुँवर र शाखा अधिकृत नविनकुमार यादव सहभागी छन्। प्रधानन्यायाधीश श्रेष्ठको टोली कात्तिक १७ गते स्वदेश फर्किने कार्यक्रम छ।
चीनमा रहँदा प्रधानन्यायाधीश श्रेष्ठले सुप्रिम पिपुल्स कोर्ट अफ चाइनाका अध्यक्ष तथा अदालतका उच्च अधिकारीसँग औपचारिक भेट गर्नुका साथै कानुन र न्याय प्रणालीसँग सम्बन्धित आपसी सहयोगका क्षेत्रहरुमा छलफल गर्ने कार्यक्रम रहेको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिएका छन्।