अन्तिममा चुक्यो नेपालः त्रिकोणात्मक सिरिजको उपाधी युएईलाई

अन्तिममा चुक्यो नेपालः त्रिकोणात्मक सिरिजको उपाधी युएईलाई

  • शुक्रबार, कार्तिक १०, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.8K
    SHARES

नेपाल, युएई र हङकङबीचको टी–२० क्रिकेट सिरिजको उपाधि युएईले जितेको छ। युएईले शुक्रबार त्रिवि मैदानमा भएको उपाधि भिडन्तमा नेपाललाई ४ विकेटले पराजित गर्‍यो।

नेपालले दिएको १६३ रनको लक्ष्य युएईले अन्तिम बल बाँकी छदा ६ विकेटको क्षतिमा पूरा गर्‍यो।

युएईले पहिलो विकेटका लागि ७१ रनको साझेदारी गरेका थिए। कप्तान मोहमद वासीमले पहिलो विकेट रुपमा गुल्सन झाबाट बोल्ड हुनुअघि २२ बलमा ७ चौका र २ छक्का हिर्काएका थिए। पहिलो ओभरमा नेपालका सोमपाल कामीले पहिलो बलमा नोबलसहित १७ रन खर्चिएपछि नेपालले बलिङमा खराब सुरुवात गरेको थियो।

त्यसपछि युएईका अर्यांश शर्मा २५ रन र आसिफ शान ७ रन जोडेर आउट भए। शर्मालाई कुशल मल्ल र खानलाई गुल्सनले आउट गरे।

१५औं ओभरमा अलिसान शराफुलाई अभिनास बोहराले आउट गर्दा अर्को ओभरमा वृत्य अरविन्दलाई दीपेन्द्रसिंह ऐरीले डाइरेक्ट हिटमार्फत् रनआउट गरेका थिए।

१९औं ओभरको चौथो बलमा अभिनासले अली नासीरलाई ११ रनमा बोल्ड गरेका थिए। अन्तिम ओभरमा युएईलाई जितका लागि ७ रन चाहिएको थियो। बलिङमा नेपालका करण केसीले अन्तिम ओभर गरे पनि नेपाललाई जित दिलाउन सके। अन्तिम दुई बलमा २ रन चाहिएको अवस्थामा युएईका बासील हमीदले छक्का हिर्काएका थिए। बलिङमा नेपालका गुल्सन झा र अभिनास बोहराले २–२ विकेट लिए।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको उपाधि भिडन्तमा युएईले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ८ विकेटको क्षतिमा १६२ रन जोड्यो। नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गरे। उनले २९ बलमा ६ चौका र ३ छक्का हिर्काए। अर्धशतक प्रहार गरेलगत्तै उनी तेस्रो विकेटको रुपमा जाहूर खानबाट ७।३ बोल्ड भएका थिए।

त्यसअघि अर्का ओपनर आसिफ शेख ७ रन र कुशल मल्ल १ रनमै आउट भए। दुवैलाई युएईका आयान खानले बोल्ड गरेका थिए।

रोहितकुमार पौडेलले १८ रन र दीपेन्द्रसिंह ऐरीले २० रन जोड्न सके। दुवैलाई युएईका अली नासीरले आउट गरेका थिए। सन्दीप जोरा १० रन र गुल्सन झा ५ रनमा आउट भएपछि नेपाल दबाबमा परेको थियो। सोमपाल कामी पनि व्यक्तिगत १३ रनमा आयान खानबाट बोल्ड भएका थिए।

करण केसीले नटआउट २३ रन जोडे। करणले अन्तिम ओभरमा जाहूर खानलाई सुरुवाती पाँच बलमा रन लिन सकेनन् भने अन्तिम बलमा २ रन लिएका थिए। करणले १७ बलमा २ चौका र १ छक्का प्रहार गरे।

नेपालले ६ ओभरको पावरप्लेमा १ विकेटको क्षतिमा ६१ रन र पहिलो १० ओभरमा ३ विकेटको क्षतिमा ९५ जोडेको थियो। तर त्यसपछिका ओभरमा भने नेपालले लगातार विकेट गुमाउदा रनको गति केही रोकिएको थियो। बलिङमा युएईका आयान खानले ३ विकेट लिन सफल भए। उनले ४ ओभरमा १९ रन खर्चिए।

सिरिजमा नेपालले लिग चरणका चारै खेल जितेर फाइनलमा स्थान पक्का गरेको थियो। नेपालले युएई र हङकङ दुवैविरुद्ध उत्कृष्ट खेल देखाउँदा अपराजित रहन सफल भएको हो। युएईले भने लिग चरणमा एक खेल मात्र जितेको थियो। हङकङलाई रनरेटमा पछि पारेर फाइनलमा स्थान पक्का गरेको युएईले ५ मध्ये २ खेल जितेर उपाधि कब्जा गर्‍यो। नेपाल भने समूह चरणका चारै खेल जिते पनि अन्तिम खेल फाइनलमा पराजित हुँदा उपाधिबाट बिमुख बन्यो।

अर्को सातादेखि काठमाडौंमा सुरु हुने टी–२० विश्वकप छनोटअघि नेपालले युएई र हङकङविरुद्ध टी–२० सिरिज खेलेको हो।

विश्वकप छनोटमा नेपाल समूह ‘ए’ मा छ। नेपालको समूहमा सिंगापुर, मलेसिया र ओमान छन्। नेपालले पहिलो खेल सोमबार सिंगापुरसँग त्रिवि मैदानमै खेल्नेछ। समूहका दुई टिम सेमिफाइनल पुग्नेछन्। सेमिफाइनल जित्ने दुई टिम आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनोट हुनेछन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी