मनहरी (मकवानपुर), ९ कात्तिक : मकवानपुरको हेटौँडा–१५ स्थित रातोमाटेमा हाइड्रा क्रेन दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
आज बिहान पौने ६ बजे रातोमाटेस्थित पूर्व पश्चिम सडकखण्डमा चुरियामाइतर्फबाट हेटौँडातर्फ आउँदै गरेको ना१क ६०५५ नको हाइड्रा क्रेन आफैँ अनियन्त्रित भई सडकको छेउमा पल्टिदा घाइते भएका विश्रामपुर बस्ने वर्ष १८ का सहचालक विपिन महत्तोलाई उपचारको लागि हेटाँैडा अस्पताल पठाएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरी उपरीक्षक एवं प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले बताउनुभयो ।
क्रेनले च्यापिएको अवस्थामा रहेका उनलार्ई स्थानीयवासीको सहयोगमा निकालिएको थियो ।
पर्सा जिल्ला वीरगञ्ज महानगर पालिका ३० लालपर्सा बस्ने वर्ष ३० का चालक दशरथ पासवान भने सामान्य घाइते भएको उहाँले जानकारी दिनुभयो ।
स्कुटर दुर्घटनामा एकको मृत्यु, एक घाइते
काठमाडौँ कुलेखानी हेटौँडा सडकखण्डअन्तर्गत मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका वडा नं ६ जुरीखेतमा काठमाडौँबाट हेटौँडा आउँदै गरेको ०२–०२७–प ४८४२ नं को स्कुटर बुधबार दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको र एक पुरुष घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार स्कुटर चालक काठमाडौँ महानगरपालिका–२७ बस्ने वर्ष ६५ का शशीराज पाण्डे घाइते भएका र उहाँको उपचार हेटौँडा अस्पतालमा भइरहेको छ उहाँकी पत्नी ६२ वर्षीया राज्यश्री थापा क्षेत्रीको हेटौँडा अस्पतालमा उपचारका क्रममा साँझ करिब ७ः३० बजे मृत्यु भएको थियो । उहाँका अनुसार काठमाडौँबाट हेटौँडा आउने क्रममा जुरिखेतको ओरालोमा स्कुटर अनियन्त्रित भई सडकबाट करिब एक सय मिटर तल खसेको थियोे ।