जलवायु परिवर्तनबाट हुने क्षति न्यूनिकरण गरिदिन मुस्ताङवासीको माग

जलवायु परिवर्तनबाट हुने क्षति न्यूनिकरण गरिदिन मुस्ताङवासीको माग

  • बुधबार, कार्तिक १, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

अन्नपूर्ण (कास्की), १ कात्तिक : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष मुस्ताङवासीले जलवायु परिवर्तनको असरबाट हुने क्षति न्यूनीकरणका लागि नयाँ कार्यक्रम सञ्चालन गरिदिन माग गरेका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तर्गतको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले मुस्ताङको सदरमुकाम जोमसोममा आज आयोजना गरेको जलवायु परिवर्तनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागी हुन पुग्नुभएका प्रधानमन्त्री दाहाल समक्ष स्थानीयवासीले सो माग राखेका हुन् ।

स्थानीय चन्द्रबहादुर थकालीले जलवायु परिवर्तनका कारण मुस्ताङमा मानवीय र भौतिक क्षति बढेकाले न्यूनीकरणका लागि प्रधानमन्त्रीसंग आग्रह गरेको बताउनुभयो । “जलवायु परिवर्तनको असर हाम्रो जिल्लामा सबैभन्दा बढी परेको छ, स्थानीयवासी उहाँले भन्नुभयो, “यहाँको तापक्रम बढ्दै गएको छ । हिमाल बा हिउँ पग्लदै गएको छ । यसका कारण उपल्लो मुस्ताङका मानिस विस्थापित पनि भएका छन् ।”जलवायु परिवर्तनका कारण जिल्लामा उत्पादन हुने स्याउलगायत अन्य बालीमा रोग कीराको समस्या बढिरहेको पनि उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पुस माघमा पर्नुपर्ने हिउँ फागुन चैतमा पानी र हिउँ पर्नाले यहाँको स्याउ खेतीमा असर परेको छ ।” उपल्लो मुस्ताङमा घर पालुवा जनावर घट्दै गएको उहाँले बताउनुभयो । मुस्ताङी जनताले झेल्नुपरेको समस्या समाधानका लागि सरकारले ध्यान दिनुपर्ने स्थानीयवासी उहाँको भनाइ थियो ।

बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिङजिन जामगेल गुरुङले जलवायु परिवर्तनको असरका कारण जिल्लामा वर्र्षासँगै बेमौसमी हिमपात भएकाले पालिकाभित्र क्षति भएको बताउनुभयो । “गतवर्ष असोज १७ देखि लगातार सात दिनसम्म वर्षा हुँदा धेरै क्षति पुगेको थियो,” उहाँले भन्नुभयो, “यसवर्ष पनि गत साउन २८ गते कागखोलामा आएको बाढीले कागबेनीमा ठूलो क्षति पु¥याएको छ । त्यसैले जलवायु परिवर्तनबाट हुने क्षति न्यूनीकरणका लागि सङ्घीय सरकारले ध्यान दिन जरुरी छ ।”

प्रदेशसभा सदस्य विकल शेरचनले वातावरण अनुकूल विकास निर्माणको काम गर्नुपर्ने, इन्धन खपत कम गर्ने, जैविक विविधता संरक्षण गर्नुपर्ने, हरितगृह ग्यास उत्सर्जनमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । यसमा तीन तहकै सरकारको सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तन अन्तर्राष्ट्रिय चुनौती बनेको बताउनुभएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाद्वारा बुधबार मुस्ताङको जोमसोममा आयोजित जलवायु संवाद कार्यक्रममा उहाँले दक्षिण एसियाको हिमालय पर्वत शृङ्खला वरिपरि देखा परिरहेको जलवायु परिर्वतको असर विशिष्ट र गम्भीर खालको रहेको उल्लेख गर्नुभयो ।

“जलवायु परिवर्तन हाम्रो राष्ट्रिय समस्या र चुनौती त हुँदै हो, सँगै यो अन्तर्राष्ट्रिय चुनौती पनि हो, विश्वकै समस्या हो”, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “जलवायु परिर्वतनको जोखिम न्यूनीकरणमा अन्तर्राष्ट्रियजगत्ले पर्याप्त लगानी र पहल नलिने हो भने विश्वले गम्भीर मानवीय र प्राकृतिक विपद्को सामना गर्नुपर्ने स्थिति आउँछ ।”

प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसङ्घको हालै सम्पन्न महासभालगायत अन्तर्राष्ट्रिय मञ्चहरुमा जलवायु परिवर्तनले नेपालमा पु¥याएको क्षति र सम्भावित जोखिमबारे गम्भीरताका साथ विषय उठाइएको बताउनुभयो । “नेपालले झेलिरहेको जलवायु परिवर्तनको समस्याबारे विश्व समुदायको ध्यानाकर्षण भएको छ”, उहाँले भन्नुभयो, “आउँदो महिना हुने २८औँ विश्व जलवायु सम्मेलनमा पनि म आफैँ नेपालको प्रतिनिधित्व गरेर जाँदैछु, त्यहाँ पनि गम्भीरताका साथ यो विषय राख्नेछु ।”

प्रधानमन्त्री दाहालले नेपालमा जलवायु परिवर्तनबाट पुगेको असर र जोखिमबारे बुझ्न छिट्टै संयुक्त राष्ट्रसङ्घका महासचिवको नेपाल भ्रमण हुन लागेको जानकारी पनि दिनुभयो । उहाँले पछिल्लो समय मुस्ताङलगायत हिमाली क्षेत्रमा जलवायु परिवर्तनबाट पुगेको क्षति र जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय सहयोग भित्र्याउन पहल गर्ने बताउनुभयो । उहाँले जलवायु परिवर्तनका क्षेत्रमा काम गर्ने विदेशी दातृ निकायबाट प्राप्त हुने रु ५० करोड मुस्ताङमा खर्च गरिने जानकारी पनि दिनुभयो ।

“गत साउन २८ गतेको बाढीबाट क्षतिग्रस्त बनेको कागबेनी क्षेत्रको पुनः निर्माणमा पनि विदेशी सहयोग जुटाउन सरकारका तर्फबाट आवश्यक पहल भइरहेको छ”, उहाँले भन्नुभयो, “जलवायु परिवर्तनबाट मुस्ताङको जनजीवन, कृषि, उत्पादन, पर्यटन र समग्र व्यवसायमा पुगेको क्षतिलाई कसरी रोक्न सकिन्छ भन्नेमा नेपाल सरकार गम्भीर ढङ्ग रुपमा लागेको छ ।”

प्रधानमन्त्री दाहालले भौगोलिक विशिष्टता, प्राकृतिक सम्पदा, खनिज, धार्मिक, सांस्कृतिक आदि दृष्टिबाट मुस्ताङ विश्वकै परिचित स्थल रहेको धारणा राख्नुभयो । आज मुस्ताङ आउनुभएका उहाँले आजै बाढीबाट क्षति पुगेको कागबेनी, मुक्तिनाथ, उपल्लो मुस्ताङको लोमान्थाङलगायत क्षेत्रको हवाई अवलोकन गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ