स्थानीय कला संस्कृतिले तान्यो विदेशी चित्रकारलाई

स्थानीय कला संस्कृतिले तान्यो विदेशी चित्रकारलाई

  • शुक्रबार, अशोज १९, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

खोटाङ, १९ असोज : ‘मुन्दुम अन्तरराष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा प्रदर्शनी–२०८०’ कार्यक्रममा सहभागी हुन खोटाङ आएका १४ देशका चित्रकार स्थानीय कला तथा संस्कृति अवलोकन गरिरहेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र धनु आर्ट स्टुडियो काठमाडौँले आयोजना गरेको उक्त प्रदर्शनीमा नेपालसहित अष्ट्रेलिया, बङ्गलादेश, भूटान, चीन, जापान, इजिप्ट, भारत, लातभिया, लिथुआनिया, दक्षिण कोरिया, अमेरिका, युक्रेन र भियतनामका चित्रकार सहभागी भएका छन् ।

स्वदेश तथा विदेशका चित्रकार आउने भएपछि बिहीबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका स्थानीयवासीले दैनिक जनजीवनमा प्रयोग भइरहेका पुराना घरेलु सामग्रीलाई प्रदर्शनीमा राखेका थिए । चित्रकारलाई अवलोकन गराउन ध्वाँसो लागेका हर्पे, ठेका, दाविलो, डोको, नाङलो, ओख्ली, लोहोरो, जाल, ढडिया, फुर्लुङ, मुढा, कोक्रो, कुचो, डोको, थुन्चे, तोलङ, ओख्ली, नाङ्लो, दाप, मान्द्रो, फिपी, घुर्रा, मदानी, ठेका, हर्पे, काठे गिलास, हलो, जुवा, हल्लुड, सोइला, कुटो, कोदालो, फिर्के, दाबिलो, खरेटो, चिम्टा, पन्यु, हँसिया, कचिया, सिलौटा, लोहोरो, कर्द, काठको चम्चा लगायतका घरायसी सामग्रीको नाम लेखेर पङ्क्तिबद्धरुपमा एउटा कोठामा राखिएको थियो ।

स्थानीयवासी इमान राईको अगुवाइमा विदेशी पहुनालाई नेपाली जनजीवनका बारेमा जानकारी दिलाउने उद्देश्यले ती सामग्री सङ्कलन गरेर प्रदर्शनीमा राख्ने व्यवस्था मिलाइएको थियो । यही असोज १७ देखि २१ गतेसम्म हुने चित्रकला प्लेन एयर कार्यशाला तथा प्रदर्शनीका लागि दिक्तेल आइपुगेका २० विदेशी र १७ स्वदेशी चित्रकारलाई बिहीबार जापलामा स्थानीय कला तथा संस्कृतिसम्बन्धी सामग्री प्रदर्शन गरिएको राईले बताउनुभयो ।

स्वदेशी तथा विदेशी चित्रकारले पुराना घरेलु सामग्री, स्थानीय कला तथा संस्कृतिलाई निकै रुचिपूर्वक अवलोकन गरेका वडाध्यक्ष दानबहादुर राईले बताउनुभयो । उहाँका अनुसार यहाँ आएका चित्रकारलाई जालपामा किराँत समुदायको साकेला, नेवार समुदायको लाखे, खसआर्य समुदायको सँगिनी र मारुनी नाचसमेत देखाइएको थियो ।

जालपा माविका छात्रछात्राले नृत्य प्रस्तुत गरेर पहुनालाई मनोरञ्जन दिलाएका वडाध्यक्ष राईले बताउनुभयो । विशेष गरी विदेशी चित्रकारलाई जालपाको भौगोलिक, सामाजिक तथा सांस्कृतिक अवस्थाका बारेमा निवर्तमान वडाध्यक्ष विकास राईले नेपाली र अङ्ग्रेजमा जानकारी दिनुभएको उहाँको भनाइ थियो ।

“कार्यक्रमको कार्यतालिकाअनुसार यहाँ आएका अतिथिलाई वडापन्छी घोषणा गरिएको लाटोकोसेरोको प्रतिमा अवलोकन गराइएको थियो”, वडाध्यक्ष राईले भन्नुभयो, “स्थानीयवासीले आयोजना गरेको विभिन्न कार्यक्रममा चित्रकारहरुले क्यान्भासमा लाइभ पेन्टिङ गरेर चित्र तयार पारेका थिए ।”

जालपाबाट फर्किएका चित्रकारले दिक्तेलको कर्म मन्दिरमा बालन र सँगिनी नाच अवलोकन गर्नुका साथै खानीडाँडा विमानस्थल पुगेर त्यहाँको दृश्यावलोकन तथा नेवारी झाँकी एवम् माटोको भाँडाकुँडा निर्माणसम्बन्धी कला अवलोकन गराइएको आयोजकले जनाएको छ ।

अतिथिलाई देखाउनकै लागि गएराति दिक्तेलस्थित शुभम् फाउन्डेसनमा धामी/झाँक्री बसाइएको थियो । पाँचदिने कार्यक्रमको कार्यतालिका अनुसार आज दिक्तेलको विभिन्न सात स्थानमा क्यानभास पेन्टिङ कार्यक्रमको तयारी गरिएको स्थानीय कार्यक्रम संयोजक ओजोनबाबु आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार चित्रकला कार्यशाला तथा प्रदर्शनी कार्यक्रमका लागि जिल्लास्थित दशवटै स्थानीय तहका धार्मिक, सांस्कृतिक तथा पर्यटकीयस्थलका तस्बिरहरु सङ्कलन गरिएका छन् । सोही तस्बिर तथा प्रत्यक्ष अवलोकनका आधारमा चित्रकारले उतारेको चित्रमार्फत जिल्लाको धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रको विकास गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको आचार्यले बताउनुभयो ।

उक्त प्रदर्शनीका लागि नगरपालिकाको रू १८ लाख खर्च हुने अनुमान गरिएको जनाउँदै नगर प्रमुख तीर्थराज भट्टराईले लाइभ चित्रकला प्रदर्शनीको अवधिमा स्वदेश तथा विदेशका कलाकारले करिब एक सयको हाराहारीमा क्यानभास पेन्टिङ तयार पार्ने जानकारी दिनुभयो । उक्त प्रदर्शनीले खोटाङको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थानहरुलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय रुपमा परिचित गराउनुका साथै ती स्थानको महत्व, संस्कृति, सभ्यता, धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा टेवा पुर्‍याउने उहाँले दाबी गर्नुभयो ।

नगर प्रमुख भट्टराईका अनुसार चित्रकारले उतारेका पेन्टिङलाई राखेर यही असोज २० गते दिक्तेलस्थित माटिकोरे खेलमैदानमा चित्रकला प्रदर्शनीसहित स्थानीय परिकारका स्टल, सांस्कृतिक झाँकी र नृत्य प्रदर्शन गर्ने तयारी गरिएको छ । कलाकारले उतारेका लाइभ चित्रकलालाई केही महिनापछि काठमाडौँस्थित आर्ट ग्यालरीमा लगेर प्रदर्शनी गर्ने योजना बनाइएको आयोजकले जनाएको छ ।

गत चैत १९ गते बसेको नगर कार्यपालिकाको बैठकले प्रत्यक्ष चित्रकला कार्यशाला एवं प्रदर्शनी गर्ने निर्णय गरेको थियो । जिल्लाका छात्रछात्रालाई समेत सहभागी गराइने उक्त प्रदर्शनी कार्यक्रमको समापनमा चर्चित गायक राजशेपायल राईको उपस्थिति रहने आयोजकले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी