काठमाडौं । आफ्नो श्रीमानको हत्यारालाई जेलमै राख्नु पर्ने माग गर्दै भारती मानन्धरले अनशन सुरू गरेकी छन्। आफ्ना श्रीमान् चेतन मानन्धरको हत्यारा गुण्डा नाइके रिगल भनिने योगराज ढकाललाई सरकारले दिएको कैद मिनाहविरुद्ध उनले पीडा र आक्रोश व्यक्त गर्दै आएकी छन् ।
न्यायका लागि नेपालगञ्जबाट काठमाडौं आएकी भारतीले आजदेखि माइतिघरमा अनशन सुरू गरेकी हुन्। रिगलेले खुकुरी प्रहार गरी २९ असार २०७२ सालमा भारतीका श्रीमान् २९ वर्षीय मानन्धरको हत्या गरेका थिए। त्यसपछि कर्तव्य ज्यान मुद्दामा रिगललाई बाँके जिल्ला अदालतले २०७५ वैशाखमा सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो।
संविधान दिवसको अवसर पारेर राष्ट्रपति रामचन्द्र पौडेलबाट कैद मिनाह भएपछि रिगलसहित ६७० कैदी जेलमुक्त भएका थिए। तरुण दल, बाँके–३ का तत्कालीन क्षेत्रीय सभापति ढकालले संविधान दिवसका अवसरमा असोज ३ गते आममाफी पाएका थिए।
भारतीले रिगललाई कैद सजाय दिने राष्ट्रपतिको निर्णयविरुद्ध आइतबार सर्वोच्च अदालतमा रिट दिएकी छन्। रिटमाथि सुनुवाइका सोमबार र मंगलबार पेशी तोकिएपनि हेर्न नभ्याइने सूचीमा राखिएको थियो।
उनले रिगलको कैद सजाय मिनाहा गर्ने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णय बदरको माग गर्दै फेरि कारागार पठाउन माग गरेकी छन्।