मोरङ — हिन्दु धर्मगुरु आचार्य श्रीनिवासलाई साम्प्रदायिक घृणा फैलाउने र धार्मिक हिंसा भड्काउने अभिव्यक्ति दिएको आरोपमा प्रहरीले मंगलबार पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई सुनसरीको बराहक्षेत्रस्थित आश्रमबाट नियन्त्रणमा लिएको हो ।
सुनसरी प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक नविनकृष्ण भण्डारीले धर्मगुरु श्रीनिवाससँग केही कुरा बुझ्नुपर्ने भएकाले जिल्ला प्रहरी कार्यालय सुनसरी ल्याएर अनुसन्धान गरिएको बताए । श्रीनिवासले जनकपुरमा धार्मिक तथा साम्प्रदायिक घृणाका साथै हिंसा फैलाउने अभिव्यक्ति दिएको सम्बन्धमा सोधपुछका लागि सुनसरी प्रहरीको सहयोगमा सीआईबीले नियन्त्रणमा लिएको हो । श्रीनिवासले जनकपुरमा विवादस्पद अभिव्यक्ति दिएका थिए ।
उनलाई जनकपुर पुर्याईदैछ । जनकपुरमा भाषण गर्दा उनले केही दिनअघि जनकपुरमा हातमा नांगो खुकुरी बोकेर धार्मिक तथा साम्प्रदायिक घृणा फैलाउने गरी विवादस्पद अभिव्यक्ति दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
नेपाललाई हिन्दुराष्ट्र बनाउनुपर्ने अभिव्यक्ति दिँदै आएका श्रीनिवासले यसअघि पनि मोरङ प्रहरीले २०७५ वैशाख २४ मा पक्राउ गरेको थियो । उनलाई २०७४ चैतमा विराटनगरस्थित जतुवाको एक मन्दिरमा सहयोगी माधव चौधरी र लक्ष्मीराज अधिकारीलाई आफैंमाथि गोली प्रहार गर्न लगाएर हिन्दु–मुस्लिमबीच दंगा भड्काउने षड्यन्त्र गरेको आरोप लागेको थियो ।
पछि अदालतमा पुनरावेदन गरेका उनलाई जिल्ला अदालतले धरौटीमा रिहा गरिदिएको थियो ।