महिलाको सामूहिक प्रयासमा ‘पाहाँ छें’ सञ्चालन

महिलाको सामूहिक प्रयासमा ‘पाहाँ छें’ सञ्चालन

  • मङ्लबार, अशोज १६, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

धुलिखेल, १६ असोजः बिस्तारै बजार सुनसान हुँदै जाने र आर्थिक हिसाबमा सुधार गर्न आवश्यक देखिएपछि यहाँका महिलाहरुको सामूहिक प्रयासमा नेवारी परिकारको स्वाद लिन पाउने गरी पाहुना खाजा घर सञ्चालनमा ल्याएका छन् । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७ पुरानो बजारका विभिन्न पेसा व्यवसायमा आबद्ध महिलाहरुले सामूहिक रुपमा ‘पाहाँ छें’ नेवारी खाजा अर्थात् पाहुना खाजा घर सञ्चालनमा ल्याएका हुन् ।

लोप हुँदै गएको नेवारी परिकार तखाला (छाला र हड्डीसहितको मासुलाई गालेर पकाएको थलथली), योमरी र सांगाख्वा विशेष खाजाको परिकारको स्वाद लिन पाइन्छ । एकातिर बजार क्षेत्र सुनसान बन्दै गएको र अर्कोतिर घरमा बिहान–बेलुकाको काम सकेपछि फुर्सदमा रहेका कारण आफूहरुले आम्दानीको नयाँ आधार खोज्ने क्रममा पाहाँ छें सञ्चालन गरेको उहाँहरु बताउनुुहुन्छ । “बजारमा थप चहलपहल बढाउन र दिनभरिको समयलाई सदुपयोग गर्दा आम्दानी पनि हुने भएकाले सामूहिक रुपमा पाहुना खाजा घर सञ्चालनमा ल्याएका हौँ”, पनौती नगरपालिका–७ का सुनिता श्रेष्ठले भन्नुभयो ।

नेवारी परिकार बारा, योमरी, चटामरी लगायतका सबै प्रकारका खाजाको परिकार एकै ठाउँमा पाउने गरी खाजा घर सञ्चालनमा ल्याएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अब पनौतीको खाजाको परिकार के हो ? हामी यहाँबाट देखाउने छौँ ।” खाजा घरमा विशेषगरी तखाला, योमरी र सांगाख्वा यहाँको विशेष खाजा सेट रहेको छ । नेवारी समुदायको भोजमा प्रयोग हुने खाजाको एउटा महत्वपूर्ण परिकार जुन पकाउनका लागि धेरै समय र गाह्रो हुने भएकाले लोप हुँदै गएको अवस्थामा त्यसको संरक्षण गर्ने गरी पाहाँ छेंमा आउने पाहुनाले स्वाद लिन पाउने उहाँहरुको भनाइ छ ।

गुठी भोजमा अनिवार्य रुपमा हुने गरेकामा पछिल्लो समय लोप भइसकेको अवस्थामा त्यसको प्रयोगलाई स्थापित गर्नका लागि विशेषगरी तखालालाई परिकारको आकर्षकका रुपमा राखेको अर्का सञ्चालक रीता श्रेष्ठले बताउनुभयो । विभिन्न आकृतिहरुको चित्रहरु कोर्ने कामको प्रशिक्षकसमेत रहनुभएका उहाँले सामूहिक रुपमा सञ्चालन गरेको खाजा घरमा समेत सक्रिय हुनुभएको छ ।

अर्का सञ्चालक अम्बिका रघुश्रेष्ठ बुटिक कामको अलावा सञ्चालनमा आएको खाजा घरमा पनि संलग्न रहनुभएको छ । ब्युटीपार्लर व्यवसायी रमा कर्माचार्य पनि त्यसको अलावा खाजा घरमा संलग्न भएर काम गर्नुभएको छ । नेवारी खाजाको प्रचारप्रसार गर्नाका साथै पनौती बजारमा आउने पाहुनालाई नेवारी परिकारको रैथाने स्वाद चखाउनका लागि यो व्यवसाय रोजेको कर्माचार्य बताउनुहुन्छ । व्यवस्थापन र सञ्चालनमा आपूmहरु नै खटिरहनुभएको उहाँहरुले अर्को एक जनालाई रोजगारीसमेत दिनुभएको छ ।

पनौती पर्यटन विकास केन्द्रका अध्यक्ष पुरुषोत्तम कर्माचार्यले आन्तरिक पर्यटकलाई आकर्षण गर्नका लागि सञ्चालनमा ल्याएको पाहुना घरमा हरेक दिन भिन्न प्रकारको परिकार उपलब्ध गराउँदै आकर्षणको थलो बनेकाले यसमा केन्द्रले आवश्यक सहयोग गरेको बताउनुभयो । केन्द्रको सहकार्यमा चारजना सञ्चालकको रु पाँच लाखका दरले लगानी रहेको छ । पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले पुरानो परिकारलाई प्रोत्साहन हुने किसिमबाट गर्ने व्यावसायिक कार्यमा नगरपालिकको तर्फबाट सहयोग रहने बताउनुभयो । नगरभित्र सञ्चालन हुने उद्योग व्यवसायमा पनि आफ्नो मौलिक प्रकारको व्यवसायलाई स्थापित गर्नेलाई नगरपालिकाको सहयोग गर्ने नीति रहेको छ उहाँले भन्नुभयो । यसअघि पनौती नगरपालिका–७ पुरानो बजारमा नै महिलाहरुको सामूहिक प्रयासमा पन्ति कौला छें सञ्चालन गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी