दुर्गमको विद्यालयमा तीन दशक बिताउँदा…

दुर्गमको विद्यालयमा तीन दशक बिताउँदा…

  • शनिबार, अशोज ६, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

बेनी (म्याग्दी) ६ असोज : शिक्षणको सिलसिलामा तराईको रौटहट जिल्लाबाट म्याग्दी आउनुभएका जहुर आलमलाई दुर्गम गाउँमा तीन दशक लामो समय बस्नुपर्छ भन्ने लागेको थिएन ।

विसं २०५० मा शिक्षणको सिलसिलामा यहाँ आउनुभएका आलम जिल्लाको दुर्गम बस्ती धवलागिरि गाउँपालिका–५ मल्कबाङस्थित जनजागृति माविमा नियुक्त हुनुभएको थियो । छन्त्याल समुदायको बाहुल्य बसोबास रहेको दुर्गम गाउँमा पुग्न नै बेनीबाट दुई दिनको पैदलयात्रा गर्नुभएका उहाँलाई फरक भुगोल, भाषा, संस्कृति र रहनसहनमा घुलमिल हुन निकै कठिन भयो । तराईबाट उच्च पहाडी क्षेत्रको हावापानीमा विस्तारै घुलमिल हुँदै जाँदा आलम यही दुर्गम गाउँको परिवेशमा आफूलाई परिचित मात्रै गराउनु भए, जीवनको महत्वपूर्ण समय यही गाउँलाई सुम्पिन पुग्नुभयो ।

विद्यालयमा ३० वर्ष छ महिना शिक्षण गर्नुभएका आलमले २३ पर्षदेखि निरन्तर प्रधानध्यापकका रुपमा विद्यालयको शैक्षिक नेतृत्व सम्हाल्नुभयो । तराइदेखि दुर्गम गाउँसम्म आएर लामो समय शिक्षण गरी योगदान गर्नुभएका आलम अनिवार्य अवकास भएपछि सिङ्गो वडा र गाउँले अभिनन्दन गरेका छन् । यो गाउँमा बाहिरबाट आएर दीर्घ सेवा गर्ने र अभिनन्दन हुने आलम पहिलो व्यक्ति हुनुहुन्छ । विद्यालयमा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, वडा कार्यालय, आमा समूह लगायतले शिक्षक आलमलाई नौमति बाजासहित फूल, माला लगाएर अभिनन्दन गरेका हुन् ।

वडाध्यक्ष अमर छन्त्याल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दलमान छन्त्याललगायत विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावकसहित सिङ्गो गाउँवासीले उहाँलाई दोसल्ला, सम्मान पत्र, कदरपत्रसहित अभिनन्दन गर्दै चरेसका थाल उपहार दिएका थिए । एउटै विद्यालयमा तीन दशक बढी समय खर्चनु भएका शिक्षक आलमले गाउँमा आएर जागिर मात्रै नगरेको र सिङ्गो दुर्गम मल्कबाङ गाउँको शैक्षिक उत्थानमा योगदान दिएकाले गाउँमा शिक्षकलाई पहिलो पटक अभिनन्दन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दलमान छन्त्यालले जानकारी दिनुभयो ।

बिदाइमा सिङ्गो गाउँवासी र विद्यार्थीहरु सहित शिक्षक आलम समेत भावुक बन्नुभएको थियो । विदाईमा सबैका आँखा रसाएका थिए । विदाई भएर जाँदै गर्नुभएका शिक्षक आलमले आफु सेवा निवृत्त भएर घर जान लागेकोमा खुसी भन्दा जीवनको तीन दशक समय विताएका गाउँ छाडेर जानुपरेकोमा आफु भावुक भएको बताउनुभयो । शिक्षणबाट अवकाश लिएपछि आफुलाई पारिवारिक रुपमा घरपरिवासंग संगै बस्ने वातावरण भएपनि जीवनको उर्जावान समय विताएको गाउँसंग टाढिन परेकोमा आफु दुखी भएको उहाँले बताउनुभयो ।
‘‘ हिजोका ती सबै दुःख आज तपाईहरुले देखाउनुभएको मायाँले भुलाइदिएको छ, मैले कति योगदान गर्न सकेँ त्यो तपाईहरुको मुल्यांकनको बिषय हो, तर तपाईहरुले मलाई आफ्नै छोरा सम्झिएर यो गाउँको बसाईलाई सरल, सहज र स्मरणीय बनाइदिनुभयो, दुर्गमको दुःख भुलेर शिक्षणमा रमाउन पाएँ, सबैलाई धन्यबाद’’आलमले भन्नुभयो ।

यही असोज ३ गते नियमित अवकास लिनुभएका शिक्षक आलमलाई गाउँमा विदाई गरिएको थियो भने धवलागिरि गाउँपालिका कार्यालयले समेत दुर्गम गाउँमा दीर्घ सेवा शिक्षण गरेकोमा कदरपत्र र दोसल्लाद्वारा सम्मानसहित बिदाइ गरिएको छ । गाउँपालिका उपाध्यक्ष रेशम पुन र कर्मचारीलगायतले अवकाश प्राप्त शिक्षक आलमलाई बिदाइ गर्नुभएको थियो । रौटहटको यमुनामाई गाउँपालिका–३ का स्थायी बासिन्दा आलम विज्ञान बिषयमा स्नातक उत्तीर्ण गरेपछि जागिरको सिलसिलामा विस २०५० मा म्याग्दी आउनुभएको थियो । आलमलाई तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलबहादुर छन्त्यालले शिक्षा कार्यालयबाट अनुमति लिएर निजी स्रोतबाट विज्ञान विषयको शिक्षकको रुपमा विद्यालयमा नियुक्त गर्नुभएको थियो ।

आलम विद्यालयमा शिक्षणमा आएपछि विद्यालयले विसं २०५१ मा कक्षा ९ र २०५२ मा कक्षा १० को पठनपाठन सुरु गरेर माविमा स्तरवृद्धि गरिएको थियो । विसं २०५७ देखि विद्यालयमा प्रधानध्यापकको जिम्मेवारीसमेत बहन गरेपछि आलमलाई विद्यालयमै रहने दायित्व थपिएको थियो । विसं २०५० वैशाख १८ गतेदेखि विद्यालयमा कार्यरत भएर शिक्षण जीवनको सम्पूर्ण समय दुर्गम गाउँको एउटै विद्यालयलाई सुम्पनुभएका आलमलाई विद्यालयका पूर्वविद्यार्थीको पहलमा मल्कबाङ समाज युकेद्वारा यस अघि नगद रु एक लाख सहित सम्मानपत्रद्वारा सम्मान गरिएको थियो । विसं २०५३ मा परीक्षा दिएर विसं २०६० मा नजिता प्रकाशन भएको शिक्षक सेवा आयोगकको माध्यमिक तह तृतीय श्रेणी पदमा उत्तीण भएर स्थायी शिक्षक सेवामा प्रवेश गर्नुभएका आलम विसं २०६७ मा माध्यमिक तह द्वितीय श्रेणीमा बढुवा हुनुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी