काठमाडौँको गैह्रीगाउँमा हत्या गरेको अवस्थामा शनिबार बिहान फेला परेका चारवटा शवको सनाखत भएको छ। धारिलो हतियार प्रहार गरेर विभत्स ढंगले हत्या गरेको अवस्थामा दिव्य स(मिलमा फेला परेका २ पुरुष र २ महिलाको शवको सनाखत भएको हो।
हत्या हुनेमा सोही काठ मिलमा चौकीदारको काम गर्ने दोलखा घर भएका अन्दाजी ५५ वर्षीय कुमार भुजेल, उनकी पत्नी ५० वर्षीया अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीया शभद्रा भुजेल र मोरङ बेलवारी स्थायी घर भएका करिब २० वर्षीय युवक नवीन राई छन्।
घटनास्थलबाट सोधपुछका लागि काठमाडौँ महानगरपालिका ३२ तीनकुने बस्ने अन्दाजी २८ वर्षीय दिपेन्द्र राईलाई नियन्त्रणमा लिइएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दीनेशराज मैनालीले जानकारी दिए।
गएराति करिब १२ बजे घटना भएको अनुमान प्रहरीले गरेको छ। मारिने सबैको शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार भएको छ।
प्रहरीले अहिले घटनास्थल पुगेर मुचुल्का लगायतका काम गरिरहेको छ। अनुसन्धानका लागि तालिम प्राप्त कुकुर समेत लगेर अनुसन्धान कार्य शुरु गरिएको प्रहरीले जनाएको छ।
उक्त दिव्य सस्मिल दोलखाको कालिञ्चोक गाउँपालिका घर भई गौशाला बस्ने बालकृष्ण शिवाकोटीको भएको प्रहरीले जनाएको छ। चारवटै शवलाई पोष्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ।