वीरगन्ज भदौ २७ । वीरगन्जको वीर्तास्थित बाल सुधार गृहमा रहेका बालकबीच झडप हुँदा ११ जना घाइते भएका छन्। उनीहरुले प्रहार गरेको ढुङगाले लागेर तीन जना प्रहरी पनि घाइते भएका छन्।
वीरगन्जको बाल सुधार गृहमा तीन हप्ता पहिले भक्तपुरको बाल सुधार गृहबाट ल्याइएका १८ जना र यहाँ पहिलेदेखि बस्दै आएका बालकहरुबीच मंगलबार राति विवाद भइ झडप हुँदा सुधारगृह रातभर तनावग्रस्त रह्यो।
लगििझडपमा भक्तपुरबाट ल्याइएका मध्ये १० समेत गरी ११ जना बालक र तीन जना प्रहरी घाइते भएका पर्साका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए। घाइते भएका सुधार गृहका ११ जना बालकलाई मंगलबार राति नारायणी अस्पतालमा उपचार गराइ जिल्ला प्रहरी कार्यालयमा ल्याएर राखिएको उनले बताए।
प्रहरी उपरीक्षक शाहका अनुसार भक्तपुरको बाल सुधार गृहमा भदौ ४ मा जेल फुटाएर विरोध गर्दै निस्किएकामध्ये १८ जना बालकहरुलाई वीरगन्जको बालसुधार गृहमा ल्याएर राखिएको थियो। यहाँ पहिलेदेखि १३१ जना बालक थिए। सुधार गृहमा अहिले कूल १४९ जना बालकहरु रहेका गृह प्रमुख टिका काफ्लेले जानकारी दिए।
भक्तपुरबाट ल्याएर राखिएका बालकहरुले मंगलबार बेलुकी सुधार गृहका नाइकेसँग विवाद गरेर कुटपिट गरेपछि त्यही विषयमा यहाँ पहिलेदेखि रहेका र भक्तपुरबाट ल्याएर राखिएका बालकबीच विवाद भइ झडप भएको हो।