काठमाडौँ । हारका बाबजुद राम्रो प्रदर्शन गरेर चर्चामा रहेको नेपाली क्रिकेट टोलीलाई भारतीय क्रिकेट टोलीले सम्मान व्यक्त गरेको छ । नेपाली प्रशिक्षक मोन्टी देशाईले खेलपछि नेपाली टिमलाई भारतीय टिमको ड्रेसिङ रुममा लगेका थिए ।
खेलका क्रममा नेपाली खेलाडीले आफूले आदर्श मान्दै आएका भारतीय खेलाडीहरू भलाकुसारी पनि गरे । उनीहरुले विराट कोहली, रोहित शर्माजस्ता प्रभावशाली भारतीय खेलाडीको अटो ग्राफ पनि लिन भ्याए ।
यसैक्रममा नेपाली टोलीका अलराउन्डर सोमपाल कामीले पनि भारतीय टोलीका प्रभावशाली खेलाडी विराट कोहलीको अटो ग्राफ लिएका छन् । उनले आफ्नो जुत्तामा विराट कोहलीको अटो ग्राफ लिएका हुन् । त्यो तस्बिर सोमपालले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका छन् ।
फेसबुकमा तस्बिर सार्वजनिक गर्दै उनले खेलेका छन्, ‘विराट कोहली एउटा क्रिकेटर मात्र होइनन्, उनी भावना पनि हुन् ।’
खासमा खेलपछि नेपाली टोलीका प्रशिक्षक मोन्टी देसाईले खेलपछि आफ्ना खेलाडीलाई भारतीय टोलीको ड्रेसिङ रुपमा लिएर गएका थिए । प्रशिक्षक देसाई भारतीय नागरिक हुन् ।
उनी आफ्ना खेलाडीलाई भारतीय खेलाडीसँग भेटाएर अनुभव आदान—प्रदान गराउन चाहन्थे । सो अवसरमा दुबै टोलीका खेलाडीले खेलको विषयमा कुराकानी पनि गरेका थिए । त्यतिबेला नै नेपाली खेलाडीहरूले भारतीय खेलाडीहरूको अटो ग्राफ पनि लिएका हुन् ।
त्यतिबेला भारतीय टोलीका खेलाडीहरूले नेपाली खेलाडीलाई मेडल पनि लगाइदिएका थिए । हिजो भारतसँगको खेलमा नेपालको ब्याटिङ पक्ष प्रतिस्पर्धात्मक देखिएको थियो । जसमा आशिफ शेखले अर्धसतक बनाएका थिए ।