भदौ १७ काठमाण्डौँ । काठमाडौंको पेप्सीकोलामा चार वटा सवारी साधन आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य एक दर्जन बढी घाईते भएका छन् । मृत्यु हुनेमा मोटरसाईकल चालक भएको र उनको सनाखत हुन बाँकी रहेको छ ।
आइतबार बिहान साढे ७ बजे पेप्सीकोला छाप्रोस्थित सडकखण्डमा दुर्घटना हुँदा १४ जना घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिए।
जडिबुटीबाट पेप्सीकोला जाँदै गरेको क्षेत्रीय उपत्यका बस व्यवसाय संघको बा ३ ख ४८४८ नम्बरको बसले विपरीतबाट आउँदै गरेको बा ६ च ५३४२ नम्बरको बोलेरो गाडीलाई ठक्कर दिएको थियो।
त्यसपछि बा.प्र.०२.०३७ प ५३११ नम्बरको स्कुटर र बा.प्र.०२.०४१ प ४८३८ नम्बरको मोटरसाइकल पनि ठोक्किएको थियो।
दुर्घटनामा घाइतेहरूमध्ये ८ जना पुरूषको मदरल्यान्ड अस्पतालमा उपचार भइरहेको छ। सिभिल अस्पतालमा चार महिला र दुई जना पुरूषको उपचार भइरहेको छ। बस चालक रामेछाप लिखुतामाकोशी गाउँपालिका–२ घर भई पेप्सिकोला बस्ने २४ वर्षीय जनक राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ।