नाबालिग बलात्कारको अभियुक्त लागेका क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दामा आजदेखि पुनः सुनुवाइ हुने भएको छ। यसअघि साउन ३२ गतेदेखि निरन्तर सुनुवाई हुने भनिएपनि पीडितकी आमाको समेत दुईवटा जन्मदर्ता देखिएको भन्दै अदालतले उनको जन्ममिति यकिन गर्न आदेश गरेको थियो। त्यसको १० दिनमा मुद्दाको पुनः सनुवाइ हुने भएको हो।
सर्वोच्च अदालतले फास्ट ट्र्याकबाट मुद्दाको टुंगो लगाउनु भनेपनि जिल्ला अदालत काठमाडौंमा लगातार सुनुवाइ हुन सकेको छैन ।
राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान समेत रहेका सन्दीपविरूद्ध २०७९ भदौ २१ गते एक किशोरीले आफूमाथि जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन्। त्यसपछि असोज २० गते नेपाल फर्किएका सन्दीप विमानस्थलबाटै पक्राउ परेका थिए।
मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतले कात्तिक १८ गते सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। जिल्ला अदालतको आदेशविरूद्ध सन्दीपले उच्चमा पुनरावेदन दिएका थिए। पुस २८ गते उच्चले उनलाई २० लाख धरौटीमा सशर्त रिहा गरेको थियो। त्यसपछि उनी नियमित टिममा बसेर क्रिकेट खेलिरहेका छन् ।
क्रिकेट खेल्न विदेश जान पाउनुपर्ने मागसहित सन्दीपले फागुन १२ गते शुक्रबार सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए।