धरान । धरानमा निषेधाज्ञा जारी भएको छ। जिल्ला सुरक्षा समितिको शुक्रबार बैठकले गएरातिदेखि आज सम्मका लागि निषेधाज्ञा जारी गरेको हो। धरानमा गोरु काटेर खाएको र मन्दिर अगाडि चर्च बनाएको भन्दै हिन्दु समर्थकहरूले शनिबार प्रदर्शनको आह्वान गरेपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो।
सुनसरीको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले आज राति १२ बजे सम्म निषेधाज्ञा कायम रहने जानकारी दिएकी छन्। धरानको मंगलबारेमा १५ दिन अगाडि गाई काटेर मासु खाएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। त्यसपछि हिन्दु समर्थकहरूले विरोध गर्दै आएका थिए। उनीहरूले गाईगोरु काट्न बन्द गर्नुपर्ने माग गर्दै आज प्रदर्शन गर्ने घोषणा गरेका छन् ।
हिन्दु समर्थकहरूले प्रदर्शन गर्ने भएपछि धरानका पहिचानवादीहरूले प्रतिकार गर्ने घोषणा गरेपछि आज निषेधाज्ञा जारी गर्दै प्रशासनले सामाजिक, धार्मिक सद्भाव कायम राख्न अपील समेत गरेको छ ।
धरान प्रवेश गर्ने सुनसरीको तरहारा, चतरा, नडाहा, धनकुटाको भेडेटार र मोरङको केराबारी हुँदै धरान प्रवेशमा प्रतिबन्ध लगाइएको छ । धरानमा कुनै अप्रिय घटना हुन नदिन व्यापक रुपमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी राजकुमार राइले बताए । धरानको शान्ति सुरक्षा मजबुत बनाउन ५ हजार बढी जनपद र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
सो अवधिमा अत्यावस्यक कामबाहेक सामूहिक रुपमा गरिने सामाजिक,धार्मिक,राजनैतिक सभा,र्यालीरभेला जम्मार प्रदर्शनलगायतका कुनै पनि कार्यक्रम नगर्नरनगराउन आदेशमा भनिएको छ।