चोरिएका दुई बच्चा सहित एक भारतीय नागरिकलाई शसस्त्र प्रहरीले पक्राउ गरेको छ । बाराको देवताल गाउँपालिक–३ अमुवाबाट सशस्त्र प्रहरीले बच्चाहरूलाई बोरामा राखेर आईतबार भारततर्फ लैजाँदै गरेको अवस्थामा बिओपी दक्षिणझिट्कैयाले भारतको पूर्वीचम्पारण मूर्तिया ग्रामपञ्चायत–४ आधारपुर घर भएका २२ वर्षीय ताबरेज आलमलाई नियन्त्रणमा लिएको हो।
सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार सोही गाउँपालिका(३ नन्की अमुवा बस्ने शिवपुजन महतोकी ९ महिनाकी छोरी र प्रेमचन्द महतोका दुई वर्षीय छोरालाई आलमले चोरी गरी बोरामा हालेर भारततर्फ लैजाँदै थिए।
सीमावर्ती इलाकामा गस्तीमा खटिएको सशस्त्र प्रहरीलाई शंका लागी आलमले बोकेको बोरा जाँच गर्दा दुई बच्चा फेला परेपछि उनलाई नियन्त्रणमा लिइएको हो।
उद्धार गरिएका बच्चाहरूलाई अभिभावकको जिम्मा लगाइएको डिएसपी थापाले जानकारी दिए।