लुम्बिनीमा एक अर्ब लागतमा बन्ने बौद्ध सांस्कृतिक तथा सम्पदा केन्द्रको निर्माण सुरु

लुम्बिनीमा एक अर्ब लागतमा बन्ने बौद्ध सांस्कृतिक तथा सम्पदा केन्द्रको निर्माण सुरु

  • आइतवार, साउन २१, २०८०
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

कपिलवस्तु, २१ साउन । बुद्धजन्मस्थल लुम्बिनीमा भारतीय अन्तर्राष्ट्रिय बौद्ध संस्कृति र सम्पदा केन्द्रको निर्माण सुरु भएको छ । आज विहार निर्माणस्थलमा बौद्ध परम्पराअनुसार पूजा र भिक्षु भिक्षुणीबाट पाठ गरेर कमल फूल आकारमा तयार हुने गरी विहारको निर्माण थालिएको छ । भारत सरकार मातहत रहेको अन्तर्राष्ट्रिय बौद्ध परिसंघले निर्माण गर्न लागेको उक्त केन्द्रको लागत एक अर्ब भारु रहेको छ ।

फुल्न लागेको कमलको फुलको शैलीमा निर्माण गरिने केन्द्रको नेपाल र भारतका तीन जना प्रतिष्ठित भिक्षुले गैंती र साबेलले खनेर निर्माण प्रारम्भ गरेका हुन् । भूमिपूजाको अवसरमा भियतनाम, चीन, जापान, कोरिया, थेरबाद र नालन्दा परम्पराअनुसार मंगल पाठ गरिएको थियो । एससी–गोरखा कन्ट्रक्सन गोरखा जेभीका प्रकाशकुमार श्रेष्ठले १८ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष रहेको बताए ।

जिरो नेट प्रविधिमा वातावरणमैत्री उक्त केन्द्रमा सभाहल, ध्यान केन्द्र, पुस्तकालय र आर्ट ग्यालेरी लगायतका हुने बताइएको छ ।

गत वर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी भ्रमणमा आएको बेला उहाँ र नेपालका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्तरूपमा भारतीय विहारको शिलान्यास गर्नुभएको थियो ।

भूमिपूजन कार्यक्रममा लुम्बिनी विकास कोषका कार्यवाहक उपाध्यक्ष सिद्धिचरण भट्टराई (ढुण्डिराज)ले अन्तर्राष्ट्रियस्तरको भारतीय विहारको निर्माण प्रारम्भ हुनु सुखद भएको बताउनुभयो । उहाँले यसले बुद्ध जन्मस्थलको गरिमालाई थप उचाइमा पु¥याउने बताउनुभयो । भट्टराईले नेपाल र भारतबीचको सम्बन्ध दुई छिमेकी देशका रूपमा मात्र सीमित नभई भगवान् गौतमबुद्धका कारण हजारौँ वर्षअघि देखि नै सांस्कृतिक रूपमा जोडिएको बताउनुभयो ।

बुद्ध जीवनका चारधाममध्ये एक बुद्धजन्मस्थल लुम्बिनी र बाँकी तीन धाम भारतमा रहेकाले बौद्ध पर्यटनको विकासमा नेपाल र भारतबीच सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो । भारतको उपस्थिति बुद्धजन्मस्थल लुम्बिनीमा अनिवार्य रहेको भन्दै उहाँले अबको १८ महिनापछि कमल फूलको आकृतिको विहार सम्पन्न भएर बौद्ध गतिविधि चलायमान हुने जानकारी दिनुभयो ।

कार्यक्रममा लुम्बिनी विकास कोषका निवर्तमान उपाध्यक्ष भिक्षु मैत्तयले लुम्बिनीमा भारतको उपस्थिति हुनु निकै राम्रो भएको बताउनुभयो । उहाँले अन्तर्राष्ट्रियस्तरको विहार निर्माणले आध्यात्मिक र धार्मिक गतिविधिसँगै पर्यटन प्रवर्द्धन हुने बताउनुभयो ।

कार्यक्रममा अन्तर्राष्ट्रिय बुद्धिष्ट परिसङ्घका महासचिव डा भिक्षु धम्मपियाले लुम्बिनीमा बौद्ध संस्कृति र सम्पदाको प्रवर्द्धनका लागि आधुनिक केन्द्र बनाउन सुरु भएको दिन निकै महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले बुद्धको लुम्बिनीमा जन्म भए पनि बुद्धले ध्यान गरी ज्ञान प्राप्त गरेको बोधगया, पहिलोपटक धर्मदेशना गरेको सारनाथ, महापरिनिर्वाण गरेको कुशीनगर भारतमा रहेकाले यी दुई देशबीच सुमधुर सम्बन्ध रहेको बताउनुभयो ।

शुभारम्भ कार्यक्रममा नेपालका लागि भारतीय राजदूतावासका सचिव, अन्तर्राष्ट्रिय बौद्ध परिसङ्घका कार्यसमिति सदस्य भिक्षु थुप्टेन जिकडोल लगायतले विहार निर्माणले आध्यात्मिक गतिविधिलाई बढावा दिने बताउनुभयो ।

जिरो नेट प्रविधिमा कमलको फूल आकारमा डिजाइन गरिएको विहार रु एक अर्ब ६० करोड लागतमा निर्माण हुने जनाइएको छ । लुम्बिनी गुरुयोजनाभित्रको विहार क्षेत्रमा विहार निर्माण सुरु भएको कोषका योजना प्रमुख सरोज भट्टराईले जानकारी दिनुभयो । उहाँले जिरो नेट प्रविधि अर्थात् बाहिरी बिजुली नै आवश्यक नपर्ने गरी आधुनिक विहार भवन निर्माण हुने बताउनुभयो । एसिसी इन्डिया र गोर्खा बिल्डर्स जेभीले आगामी १८ महिनाभित्र आधुनिक खालको विहार निर्माण पूरा गर्ने गरी सम्झौता गरेको छ ।

कार्यक्रममा विभिन्न स्थानीय तहका प्रमुख, कोषका सदस्यसचिव सानुराजा शाक्य, कोषका बोर्ड सदस्यहरू, अखिल नेपाल भिक्षु महासङ्घका महास्थवीर, विभिन्न देशका भिक्षु, भिक्षुणी, उपासक, उपासिकालगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ