मेलबर्न । महिला फुटवल टोलीमा ब्राजिलियन स्टार मार्टाको चर्चा हुने गर्छ । उनको उपस्थितिमा ब्राजिलले धेरै महत्वपूर्ण खेलहरु जितेको छ । तर यो विश्वकप उनको लागि दुखदः अन्त्य सावित भयो । जमैकाले बुधबार ब्राजिललाई बराबरीमा रोकेर आफू अन्तिम १६ मा प्रवेश गर्दा ब्राजिल घर फर्कियो ।
ब्राजिलले सन् १९९५ यता पहिलोपल्ट यस्तो नियति भोग्नुपरेको हो । ब्राजिली फुटबलका लिजेन्ड ३७ वर्षीया मार्टाले यो नै उनको खेलजीवनको अन्तिम विश्वकप भन्दै यो आफ्नो लागि दुखदः अन्त्य भएपनि टिमको लागि सुखदः शुरुवात हुने टिप्पणी गरेकी छन् । अब जमैकाले अन्तिम १६ मा कोलम्बियाको सामना गर्नेछ ।
ब्राजिललाई समूह ‘एफ’ बाट अगाडि बढ्न निश्चित जित आवश्यक थियो । त्यहीं जमैकाका लागि बराबरी नै पर्याप्त थियो ।
जमैकाले फ्रान्सविरुद्धको पहिलो खेलमा पनि गोलरहित बराबरी खेलेको थियो भने पानामाविरुद्ध १–० को जित निकालेको थियो । जमैकाले सन् २०१९ मा विश्वकपमा डेब्यु गरेको हो ।