१० ० साउन, काठमाडौं । एक क्विन्टल सुन तस्करी प्रकरणमा संलग्न रेडी ट्रेडर्स प्रालिको अर्को गोदाममा राजस्व अनुसन्धान विभागले छापा मारेको छ ।
विभागको टोलीले बुधबार काठमाडौं महानगरपालिका–१६ स्थित सोह्रखुट्टेको व्यापारी राकेशकुमार अडुकियाको घरमा छापा मारेको हो । त्यसक्रममा कम्तीमा ६६ कार्टुन ‘ब्रेक शु’ र दुई वटा सुटकेस बरामद भएको विभागका एक अधिकारीले बताए ।
बरामद सामग्रीमा सुन भए नभएको विषयमा परीक्षण हुन बाँकी रहेको विभागले जनाएको छ । सोह्रखुट्टेस्थित उक्त गोदाममा हङकङबाट आउने सुन भण्डारण हुने गरेको पाइएको अधिकारीहरु बताउँछन् । अनुसन्धानमा संलग्न एक अधिकारीले भने, ‘विभिन्न सामग्रीभित्र लुकाएर ल्याएको सुन त्यहाँबाट भारत लैजाने गरेको देखिएको छ ।’
गोदाम खोजिदिन सहयोग गरेको आरोपमा विभागले बुधबार नक्सालबाट नरेश भनिने सुरेन्द्र तामाङलाई पनि पक्राउ गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पार गरेर २ साउनमा एक क्विन्टल सुन बाहिरिएको थियो । विशेष सूचनाका आधारमा राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो ।