साउन १, काठमाडौँ । उपत्यकाबाट फोहोर बोकेर बञ्चरेडाँडा गएका गाडी जनप्रतिनिधिकै नेतृत्वमा रोकिएको छ । बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर बिसर्जन गर्न नदिने भन्दै ककनी गाउँपालिकाका स्थानीय र जनप्रतिनिधिले उपत्यकाबाट फोहरसहित गएका गाडिलाई रोकेका हुन् ।
फोहोर र मानिसलाई सँगै राख्न नमिल्ने भन्दै आफूहरुले पटक पटक माग राख्दा पनि सुनुवाइ नभएकाले आन्दोलनमा उत्रनु परेको ककनी गाउँपालिकाका ३ का वडाध्यक्ष घननाथ बजगाईंले बताए ।
आज बिहानैदेखि वडाध्यक्ष बजगाईंसहितको टोलीले बन्चरेडाँडा नजिकैको आलेटार क्षेत्रमा फोहोर बोकेर गएका उपत्यकाका गाडीहरुलाई अवरोध गरेका हुन् ।त्यहाँका स्थानीयवासी अव्यवस्थित ढंगबाट फोहोर बिसर्जन गर्दा झिँगा धेरै आउन थालेपछि आक्रोशित बनेको वडाध्यक्ष बजगाईंले बताए ।
केही दिनअघि ककनी गाउँपालिकाले फोहोर बोकेर आउने गाडीहरुलाई प्रवेश शुल्क लिने निर्णय गरेको थियो । तर स्थानीयले शुल्क भन्दा नागरिकको स्वास्थ्य महत्त्वपूर्ण भन्दै फोहोर विसर्जन गर्न नदिने अडान लिएपछि अहिले जनप्रतिनिधिहरू नै फोहोर विसर्जन गर्न नदिने भन्दै आन्दोलनमा उत्रिएका छन् । फोहोर ल्याउने गाडीहरूबाट शुल्क उठाउने भनेर निर्णय पनि गरेका तर फोहोर थुपार्न नदिने भनेर जनता आक्रोशित भएर सडकमा आएपछि जनप्रतिनिधि पनि आन्दोलनमा उत्रिएको वडाध्यक्ष बजगाईंले बताए ।