मनाङ एयर हेलिकप्टर दुर्घटना हुँदा चालकसहित ६ जनाकै मृत्यु

मनाङ एयर हेलिकप्टर दुर्घटना हुँदा चालकसहित ६ जनाकै मृत्यु

  • मङ्लबार, असार २६, २०८०
  • मिर्मिरे अनलाइन

  • 15.3K
    SHARES

असार २६, काठमाडौँ । सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर दुर्घटना हुँदा क्याप्टेनसहित ६ जनाको मृत्यु भएको छ । आज बिहान सोलुखुम्बुको सुर्के हेलिप्याडबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ९ एन एएमभी कलसाइन रहेको हेलिकप्टर लिखुपिके गाउँपालिका ५को लामजुरा क्षेत्रमा दुर्घटना हुँदा क्याप्टेन चेतबहादुर गुरुङ र ५ जना मेक्सिकन यात्रुको मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

हेलिकप्टर दुर्घटनामा ६ जनाकै मृत्यु भएको सोलुखुम्बु जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले पुष्टि गरे । अहिले सबै शव संकलन भइसकेको उनले बताए ।

मृत्यु हुनेमा मेक्सिकन यात्रुहरूमा सिफुएन्टेस जी फर्नाडो, रिंकोन इस्माइन, सिफुएन्टेस जी मारिया होजे, गोन्जालेज ओलासियो लुज र गोन्जालेस एब्रिक रहेका छन् ।

प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराई र आफू हेलिकप्टरमार्फत दुर्घटनास्थल जान खोजे पनि मौसमको खराबीका कारण अवतरण हुन नसकेको उनले बताए ।

दुर्घटनास्थलमा बेनी प्रहरी चौकीबाट २ जना र किञ्जा प्रहरी चौकीबाट ४ जनाको टोली उद्धारका लागि पुगेको छ । खराब मौसमका अनुसार शव ल्याउन समस्या भइरहेको डीएसपी श्रेष्ठले बताए ।

उद्धारका लागि गएका हेलिकप्टर दुर्घटनास्थलमा अवतरण हुन नसकेपछि लिखुपिके गाउँपालिका ५ मै अवतरण गराइएको छ ।
प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले जिल्ला सदरमुकाम सल्लेरीबाट नेपाल प्रहरी र नेपाली सेनाबाट थप २१ जना गाडीबाट दुर्घटनास्थल पठाइएको बताए ।

मंगलबार बिहान सोलुखुम्बुको सुर्के हेलिप्याडबाट ५ मेक्सिकन यात्रु लिएर काठमाडौं उडेको मनाङ एयरको हेलिकप्टर सोलु दूधकुण्ड नगरपालिका वडा नम्बर २ र लिखुपिके गाउँपालिका ५ को सीमा लामजुरा क्षेत्रमा दुर्घटनाग्रस्त भएको बेनी प्रहरी चौकीले जनाएको छ ।

हेलिकप्टर लामजुराडाँडासम्म सम्पर्कमा रहेको र काठमाडौंको टावरलाई ह्यान्डओभर गर्नासाथ सम्पर्कविच्छेद भएको थियो। हेलिकप्टर बिहान १० बजेर १२ मिनेटपछि सम्पर्कविहीन भएको थियो । उनका अनुसार हेलिकप्टर १० बजेर ५ मिनेटमा सुर्केबाट उडेको थियो ।

लुक्ला विमानस्थलको मौसम खराब भएकाले काठमाडौंबाट गएको उक्त हेलिकप्टर सुर्केमै अवतरण गरिएको थियो । यात्रुहरूलाई सुर्केसम्म गाडीबाटै ल्याएर काठमाडौं उडाइएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी