काठमाडौँ । विश्वकप छनोट क्रिकेटअन्तर्गत सातौं स्थानको प्लेअफमा नेपाल आयरल्यान्डसँग २ विकेटले पराजित भएको छ । २ सय ६९ रनको लक्ष्य आयरल्यान्डले ४ बलअघि पूरा गरेको थियो । अन्तिम ओभरमा ब्यारी म्याकार्थीले आफूले सामना गरेको दोस्रो बलमै चौका प्रहार गर्दै आयरल्यान्डलाई विजयी गराए ।
जिम्बावेमा भइरहेको प्रतियोगितालाई नेपालले आठौं स्थानमा रहेर टुंग्याएको छ । सन् २०१८ मा जिम्बावेमै भएको विश्वकप छनोटको पछिल्लो संस्करणमा पनि आठौं स्थान हात पार्दै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । आयरल्यान्डसँगको खेल नेपालको टेस्ट राष्ट्रसँग तेस्रो एकदिवसीय खेल थियो । यसै प्रतियोगितामा अर्का दुई टेस्ट राष्ट्र जिम्बावे र वेस्ट इन्डिजसँग पनि नेपाल पराजित भएको थियो ।
ग्यारेथ डिलानी १६ रनमा अविजित रहे । कुर्टिस क्याम्फेर र ह्यारी टेक्टरको अर्धशतकीय इनिङ्समा आयरल्यान्डले विजय आधार बनाएको थियो । आयरल्यान्डबाट कुर्टिसले ६२ र हयारीले ६० रन बनाए । प्रतियोगितामा आफ्नो पहिलो खेल खेलिरहेका किशोर महतोले टेक्टर २१ रनमा भएको समयमा क्याच नछाडेको कथा नेपालको पक्षमा पनि लेखिन सक्थ्यो ।
क्याम्फेरले ५९ बल खेल्दै ८ चौका र १ छक्का तथा टेक्टरले ९६ बल खेल्दै ४ चौका र २ छक्का प्रहार गरे । जर्ज डकरेल ३३ रलोर्कन टकरले २४ रन बनाए । करण केसीले एन्डी म्याकब्रिनलाई १७, किशोरले कप्तान एन्डी बालबिर्नीलाई १ र गुलशन झाले पाउल स्टर्लिङलाई १५ रनमा आउट गर्दा नेपाल खेलमा हाबी भएको थियो । १२ औं ओभरमा आयरल्यान्ड ६०–३ को स्थितिमा पुगेको समयमा टेक्टर र क्याम्फेरको जोडी जमेको थियो । नेपालबाट करणले १० ओभरमा १ मेडन राख्दै ५८ रन खर्चेर ४ विकेट लिए । किशोरले २, गुलशन र सन्दीप लामिछानेले १–१ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङमा आएको नेपालले हरारेको ताकसिंगा स्पोर्ट्स क्लबमा निर्धारित ५० ओभरमा ९ विकेट गुमाई २ सय ६८ रन बनाएको थियो । नेपालले अन्तिम ९ ओभरमा ८४ रन जोड्दै चुनौतीपूर्ण स्कोर बनायो । सोक्रममा गुलशन र सन्दीपले आठौं विकेटमा ८० रन जोडेका थिए ।
गुलशनले अविजित ५७ रन बनाउनेक्रममा ४२ बल खेल्दै ४ चौका र ३ छक्का तथा सन्दीपले ३० बल खेल्दै २ चौका र १ छक्का प्रहार गरेर ३२ रन बनाए । अर्जुन साउद ४८, कुशल मल्ल ४४, कप्तान रोहित पौडेल २९ र भीम सार्की २० रनमा आउट भए । आयरल्यान्डका मार्क एडिर, म्याकार्थी र क्रेग योङले २–२ विकेट लिए ।