जुम्लामा अन्तर्जातीय विवाह गरेपछि केटी पक्षले केटापक्षको घरमा आगजनी गरेका छन्।
आइतबार बिहान तातोपानी गाउँपालिका–४ गिदीखोलास्थित भरत नेपालीको घरमा आगजनी भएको हो। उक्त घरमा आगजनी गरेको आरोपमा प्रहरीले सोही ठाउँका २२ वर्षीय हिक्मत गिरीलाई पक्राउ गरेको छ। उनलाई आइतबार राति नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी प्रल्हद कार्कीले जानकारी दिए। हिक्मतमाथि आगजनी कसूरमा अनुसन्धान भइरहेको छ।
हिक्मतविरूद्ध आइतबार नै भरतले प्रहरीमा जाहेरी दिएका थिए। उक्त घरमा भरतका साइँला भाइ तिर्थ र मुकुन्द बस्थे। तिर्थ कामको सिलसिलामा शनिबार जुम्ला बजारमा गएका थिए।
घरमा आगजनी हुनुको कारण भरतका कान्छा भाइ मुकुन्दले गरेको अन्तर्जातीय विवाह हो।
भरतका अनुसार २२ वर्षीय मुकुन्द नेपालगन्जमा अध्ययन गरिरहेका थिए। तर केही महिनादेखि उनी गाउँमै थिए। त्यसैबीच उनले हिक्मतकी अन्दाजी १४ वर्षीया बहिनीलाई असार ११ गते भगाएका थिए।
तातोपानी(४ का वडाध्यक्ष अम्मरबहादुर रोकायाका अनुसार आइतबार बिहान २–३ बजे नै आगलागी सुरू भएको थियो। तरछिमेकीले ढिलो गरीमात्रै थाहा पाएका थिए।
पक्राउ परेका हिक्मतले पनि आफैंले आगजनी गरेको प्रहरीसमक्ष स्वीकार गरेका छन्।