नारायणगढ–मुग्लिन सडक पटक पटक पहिरो खस्ने र अवरुद्ध हुने क्रम हरेक वर्ष जस्तै यस वर्ष पनि जारी छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा आज बिहान २ बजे पहिरो खसेपछि सडक दुईतर्फी नै अवरुद्ध भएको हो।
पहिरोले एउटा ट्रक पल्टिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यलय चितवनका प्रवक्ता प्रहरी वरिष्ट नायब निरीक्षक सुरेन्द्र विष्टका अनुसार पहिरोमा परी दुर्घटना भएको ट्रकका चालक सामान्य घाइते छन्।
उक्त स्थानमा पटक–पटक पहिरो खसेको छ । आइतबार झण्डै १८ घण्टा अवरुद्ध भएको यो सडक साँझबाट सञ्चालन भएको थियो । यसको केही समयमा फेरि पहिरो खसेकोमा पहिरो पन्छाएर सडक सञ्चालन गरिएको थियो । यो सडक हुँदै दैनिक हजारौँ सवारीसाधन आउजाउ गर्ने गर्दछन् । पटक–पटक सडक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाडौं ओहोरदोहोर गर्ने यात्रु बढी मर्कामा परेका छन् ।
वर्षेनी यसरी पहिरोले दुखः दिने गरे पनि पहिरो रोकथाम वा वैकल्पिक उपायको बारेमा सरकारले अझै ठोस कदम नचाल्दा यो सडक सञ्जालले जनधनको क्षति र सास्ती दुबै व्यहोर्न बाध्य बनाईरहेको छ ।