१५ असार, काठमाडौं । नेपाल आयल निगमको जग्गा अनियमितता लगायत अनियमिततामा मुछिएका नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्का गैरकानुनी सम्पत्ति आर्जनको भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।
विशेष अदालतले खड्कालाई गैरकानुनी ढंगले सम्पत्ति आर्जन गरेको अभियोगमा उनको घरसम्पत्ति जफत सहित १५ महिना कैद सजाय हुने फैसला गरेको हो ।
विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरु शालिग्राम कोइराला र डा। खुसीप्रसाद थारुको इजलासले खड्कालाई ‘बिगो बमोजिम’ ९ करोड १९ लाख ६ हजार ६३४ रुपैयाँ ३४ पैसा जरिवाना हुने आदेश समेत गरेको हो ।
विशेष अदालतका प्रवक्ता दिपेन्द्रनाथ योगीले भने, ‘अख्तियारले खड्काको घरजग्गा, बैंक मौज्दात र शेयर जफत गर्न मागदाबी लिएको थियो । त्यो सबै जफत गर्ने आदेश भएको छ ।’
विशेष अदालतले त्यसलाई आंशिक रुपमा ठहर गर्दै उनीहरुको नाममा रहेको ३ कित्ता घरजग्गा बिगोको हदसम्म जफत गर्नु भनी आदेश दिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २३ पुस २०७५ मा नेपाल आयल निगमको पूर्वकार्यकारी निर्देशक गोपाल खड्कामाथि १८ करोड ६६ लाख ५ हजार ६२९ रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको अभियोग लगाएको थियो ।
२७ करोड ३० लाख ७५ हजार ३८० रुपैयाँ सम्पत्ति जोडेको खड्काले ८ करोड ६४ लाख ६९ हजार ७५१ रुपैयाँ मात्रै वैध रुपमा आर्जन गरेको अख्तियारको आरोप थियो । आयल निगममा पुग्दाताका पछिल्लो ६ महिनामा मात्रै उनीमाथि ७ करोड ४४ लाख आर्जन गरेको आरोप थियो ।
खड्काले पुर्ख्यौली बाहेक ३ वटा घर निर्माण अनि खरिद गरेका थिए । उनले २ वटा घर खरिदका लागि आंशिक भुक्तानी दिएका थिए । उनले विभिन्न ठाउँमा ११ कित्ता जग्गा किनेको भेटिएको थियो ।
उनले घरजग्गामा मात्रै ११ करोड ६१ लाख रुपैयाँ लगानी गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ । विभिन्न ५५ वटा बैंक, सहकारी र अन्य वित्तीय संस्थामा उनले २ करोड ७१ लाख बचत गरेको भेटिएको थियो ।
रकम लुकाएको ठहर सहित विशेष अदालतले उनकी पत्नी शर्मिला खड्काको नाममा रहेको केही सम्पत्ति जफत हुने आदेश गरेको छ ।