असार १३ काठमाण्डौँ । काठमाडौंको नक्सालबाट प्रहरीले एक जना बेहुलालाई पक्राउ गरेको छ।
मंगलबार दिउँसो २ बजे काठमाडौं महानगरपालिका–१ नक्सालस्थित एक पार्टी प्यालेसको मण्डपबाटै ती बेहुलालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सिताराम रिजालले जानकारी दिए।
सुनसरी दुहवी नगरपालिका वडा नम्बर ६ स्थायी घर भई हाल काठमाडौं वडा नम्बर १३ ताहाचल बस्ने ३२ वर्षीय अनुराग रौनियारलाई प्रहरीले पक्राउ गरेको हो। प्रहरीका अनुसार उनी अमेरिकाको ग्रीन–कार्ड प्राप्त व्यक्ति हुन्।
पार्टी प्यालेसमा विवाह हुँदै गर्दा बेहुला पक्षले मागेजति दाइजो नपाएको भन्दै बिहे रद्द गर्ने निर्णय गरेको एसपी रिजालले बताए ।
प्रहरीले घटनाबारे बुझ्दा जन्तीलाई राम्ररी स्वागत नगरेको र ५० लाख रूपैयाँ दाइजो नपाएपछि बिहे नै रद्द गर्ने अडान लिएको खुलेको हो। बेहुलीलाई गाली बेइज्जती र हातपात समेत गरेको एसपी रिजालले बताए ।
बिहे खर्च बापत केटा पक्षले केटी पक्षबाट पटकपटक गरी २२ लाख रूपैयाँ लिइसकेको खुलेको हो। रौनियारलाई अहिले प्रहरी वृत्त मालिगाउँमा राखिएको छ।