बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा आज मात्रै पक्राउ पर्नेको संख्या ६ पुगेको छ। भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई शुरुमा पक्रेको सिआईबीले अन्य पाँच जनालाई नियन्त्रणमा लिएर हिरासतमा राखेको छ ।
ललिता निवास प्रकरणमा संलग्नहरुविरुद्ध सीआईबीको अपरेशन जारी छ। सीआईबीका एक अधिकारीका अनुसार मीनबहादुरपछि मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारीहरु धर्मप्रसाद गौतम, सुरेन्द्रमान कपाली र भूपेन्द्रमणि केसी र गोपाल कार्की पक्राउ परेका हुन् । अन्य थप व्यक्ति पक्राउ गर्न सिआईबीको बिशेष टोली परिचालित भएको बताईएको छ ।
सीआईबीले गुरुङसहित मालपोत कार्यालयका पूर्व हाकिमदेखि कर्मचारीहरुलाई सरकारी कागजात किर्ते सम्बन्धि मुद्धा चलाएको छ ।
यस प्रकरणमा यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा चलाइसकेको छ। मंगलबार नै सीआईबीको टोलीले काठमाडौंका फरक फरक स्थानबाट तत्कालीन सचहसचिवसहित ६ जनालाई पक्राउ गरिसकेको छ।
बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने प्रकरणमा उनीहरु सबै नाम मुछिएको थियो। ललिता निवासको सरकारी जग्गा ती कर्मचारीहरुसँगको मिलेमतोमा राजनीतिक नेतृत्वदेखि अन्य पहुँचवालाले हडपेका थिए।
मालपोत कार्यालयका कागजपत्र किर्ते गरेर सरकारी जग्गा हडपिएको यो प्रकरण लामो समय सेलाएपछि सरकारले फेरि ब्यूँत्याएर अनुसन्धान अघि बढाएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पूर्वउपप्रधानमन्त्री, पूर्वमन्त्री, तत्कालीन आयोगका आयुक्तसहित १७५ जनाविरुद्ध २०७६ मंसिरमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो।