काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा शनिबार नेपालले चिरपरिचित प्रतिद्वन्द्वी नेदरल्यान्ड्सविरुद्ध पहिलो ब्याटिङ गर्दैछ ।
नेदरल्यान्ड्सले टस जिती पहिलो बलिङ गर्ने निणर्य लिएको हो । जारी प्रतियोगिताको समूहगत चरणमा नेपालले अन्तिम खेल खेल्न लागेको हो । हालसम्म एक जित र दुई हारको नतिजा निकालेको नेपालका लागि नेदरल्यान्ड्सविरुद्घको खेल निकै महत्वपूर्ण छ । नेपाली टोली आफ्नो पहिलो खेलमा बलियो प्रतिद्वन्द्वी जिम्बाबेसँग आठ विकेटले पराजित भएको थियो ।
यसैगरी दोस्रो खेलमा नेपालले अमेरिकालाई ६ विकेटले हराएको थियो । समूहगत चरणको आफ्नो तेस्रो खेलमा नेपाली टोली दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजसँग एक सय एक रनले पराजित भएको थियो । समूह ‘ए’ को अंक तालिकामा हालसम्म दुई खेल खेलेको वेस्ट इन्डिज चार अंकसहित पहिलो स्थानमा छ । आफूले खेलेको दुवै खेलमा विजयी भएको घरेलु टोली जिम्बाबे पनि चार अंकसहित तालिकाको दोस्रो स्थानमा छ । वेस्ट इन्डिज नेट रनरेटमा जिम्बाबेभन्दा अगाडि छ । दुई खेल खेलेको नेदरल्यान्ड्स एक जित र एक हारको नतिजाबाट दुई अंक बटुल्दै तालिकाको तेस्रो स्थानमा छ ।
यसैगरी तीन खेलबाट एक जित र दुई हारको नतिजा निकाल्दै दुई अंक हात पारेको नेपाल तालिकाको चौथो स्थानमा छ । नेट रनरेटमा नेदरल्यान्ड्सले नेपाललाई पछि पारेको छ । तीनवटै खेलमा पराजित भएको अमेरिका पाँचौं स्थानमा छ । समूहका दुई बलिया टोली वेस्ट इन्डिज र जिम्बाबे प्रतियोगिताको सुपर सिक्स चरणमा पुग्ने निश्चित छ । त्यसैले सुपर सिक्स चरणमा पुग्न अब नेपाल र नेदरल्यान्ड्सबीच चर्को प्रतिस्पर्धा देखिएको छ ।