बेंगलुरु असार ९ । नेपाली फुटवलमा आज एउटा कठिन परीक्षामा छ नेपाल । पछिल्लो समय राम्रो तयारी र अभ्यास विनै यस पटकको साफ च्याम्पियन २०२३ मा नेपालले सहभागीता जनाएको छ ।
संयोगबस यस पटक देखि साफमा दुई दक्षिण एशिया क्षेत्र बाहिरका टोली पनि भएकाले प्रतियोगीतामा शक्तिशाली टिमहरु सामेल छन् । यस्तोमा पहिलो खेल कुवेत बिरुद्ध तीन एक गोल अन्तरले बुझाएको नेपालले आज आयोजक भारतसँग भिड्दैछ ।
भारतसँग बैङलौरमा आज हुने खेललाई नेपालका ईटालियन प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले यस अघि नै भनेका थिए, भारतसँगको खेल फाईनल सरह हुनेछ ।
हो उनले भने जस्तै आजको खेल नेपालका लागि गर या मरको स्थितिमा छ ।
नेपाल आफ्नो पहिलो खेलमा कुवेतसँग ३–१ ले पराजित भएको थियो । त्यसपछि भारतले पाकिस्तानलाई ४–० ले हराएको थियो । नेपाली फुटबल इतिहासकै सर्वाधिक महत्त्वको खेल हुन सक्नेछ भारतविरुद्ध । आज भारतसँग पराजित भएमा नेपाल समुह चरणबाटै बाहिर हुने छ ।
नेपालले अहिलेसम्म समग्रमा २४ पल्ट भारतको सामना गरेको छ । त्यसमध्ये नेपाल तीनपल्ट विजयी छ भने चार बराबरी रहेको छ । बाँकी १७ खेलमा नेपाल पराजित छ ।
यी दुई टिमबीच यो खास प्रतियोगितामा आठ खेल भएका छन् । त्यसमा नेपाल एकै खेलमा मात्र विजयी छ ।
भारतको मुख्य हतियार नेपाली मुलका सुनिल क्षेत्री हुन् । उनले पहिलो खेलमा पाकिस्तान बिरुद्ध ह्याट्रिक गरेका थिए ।
उनलाई रोक्दै काउन्टर एट्याकमा गोल गर्ने नेपालको संभावित रणनीति हुन सक्नेछ
आज पनि नेपालका लागि अञ्जन विष्टमाथि दर्शक समर्थकको आशा बढेको छ । कुवेत बिरुद्ध उत्कृष्ट गोल गर्न सफल अञ्जनले आज पनि भारत बिरुद्ध गोल गर्न सक्नेमा समर्थक आशावादी छन् ।
कुवेतविरुद्ध उनले गरेको गोल १२ औं रह्यो । उनी नेपालका लागि सर्वाधिक गोल गर्ने खेलाडी सूचीमा दोस्रो स्थानमा छन् । उनले भन्दा बढी गोल दुई खेलाडीमा हरि खड्का र नीराजन रायमाझी छन् । उनीहरू दुवैले समान १३ गोल गरेका छन् । नेपालले यसपल्टको साफ च्याम्पियनसिपमा दुई खेल खेल्न बाँकी छ ।
भारतसँगको प्रतिस्पर्धा साँझ ७ः४५ बजे हुनेछ ।