असार ७ काठमाण्डौँ । विश्वकप छनौट चरणको तेस्रो खेलमा नेपाल विश्वकपको पटक पटकको बिजेता वेष्ट ईन्डिजसँग १०१ रनले पराजित भएको छ । टस जितेर बलिङ गरेको नेपालले ईन्डिजले दिएको ३४० रनको बिशाल लक्ष्य पछ्याउने क्रममा २ बल बाकीँ छदै अलआउट भयो । तब सम्म नेपालले जम्मा २३८ रन बटुल्यो ।
नेपालका लागि आरिफ शेखले अर्धसतक बनाए । आरिफले ९३ बलमा एक छक्का र चार चौका प्रहार गरे । त्यसपछि गुल्सन झाले ४२ रन बनाउदा आज ओपनर आशिफ शेखले २८ रन जोडे भने कुसल भूर्तेल ५ रनमै पेभिलियन फर्किए ।
अर्का भरपर्दा ब्याट्सम्यान कुसल मल्ल २ रनमै आउट भएपछि संकटमा परेको नेपालका लागि दिपेन्द्र सिंह ऐरीले २३ रन बटुले भने कप्तान रोहित पौडेलले ३० रन जोडे । करण केसीले २८ रनको योगदान गरे । बलिङ तर्फ ललितले तीन विकेट लिँदा करण केसी, सन्दीप लामिछाने, गुल्सन झा, दिपेन्द्र सिंह ऐरीले एक एक विकेट लिए ।
त्यसअघि, वेष्ट इण्डिजले निर्धारित ओभरमा ७ विकेट गुमाएर ३३९ रनको योगफल बनाउँदा दुई ब्याटरले शतकीय पारी खेले । बिहानी विकेट कन्डिसनमा ब्याटिङका लागि संघर्षरत वेष्ट इण्डियन ब्याटरहरुले मध्य ओभरमा शानदार प्रदर्शन गरेका थिए ।
सुरुवातमै शीर्षक्रमका तीन ब्याटरलाई सस्तैमा आउट गर्न सफल रहे पनि त्यसपछि नेपाली बलरहरु विकेटका लागि संघर्ष गरिरहे ।
नेपालले दोस्रो ओभरमै वेष्ट इण्डिजका ओपनर केल मायर्सलाई आउट गरेको थियो । करण केसीको बलमा कुशल भुर्तेलले मिडविकेट क्षेत्रमा शानदार क्याच आउट गर्नुअघि मायर्सले १ रनमात्र बनाउन सके ।
करणले यसअघि अमेरिकाविरुद्धको अघिल्लो खेलमा पनि ४ विकेट लिएर प्लेयर अफ द म्याच बनेका थिए ।
पाँचौं ओभरमा वेष्ट इण्डिजका तेस्रो नम्बरका ब्याटर जोन्सन चार्ल्सलाई गुल्सन झाले विकेटकिपर आसिफ शेखबाट कट बिहाइन्ड आउट गरे । गुल्सनको स्पेलको पहिलो बलमै आउट भएका चार्ल्सले खाता खोल्नै सकेनन् ।
१५.३ ओभरमा तेस्रो विकेटका रुपमा ब्रेन्डन किंग आउट भएका थिए । ३२ रन बनाएर खेलिरहेका उनलाई सन्दीप लामिछानेले बोल्ड गरे । त्यसपछि सुरु भयो वेष्ट इण्डिजका कप्तान साइ होप र निकोलस पुरनको ब्याटिङ । यी दुवैले शतकीय पारी खेल्दा चौथो विकेटका लागि २१६ रनको साझेदारीसमेत गरे ।
४३.६ ओभरमा दीपेन्द्रसिंह ऐरीले कट एण्ड बोल्ड गर्नुअघि दुईपल्ट जीवनदान पाएका पुरने ११५ रन बनाए । उनले ९४ बलमा १० चौका र ४ छक्का प्रहार गरे ।
४७.१ ओभरमा ललित राजवंशीले वेष्ट इण्डिजको पाँचौं विकेटका रुपमा रोभमन पावेललाई गुल्सन झाबाट क्याच आउट गराए । पावेलले १४ बलमा ३ चौका र १ छक्कासहित २९ रन बनाए ।
४९.२ ओभरमा ललितले वेष्ट इण्डिजका कप्तान होपलाई १३२ रनमा भीम सार्कीबाट क्याचआउट गराए । होपले १२९ बलमा १० चौका र ३ छक्का प्रहार गरे ।
इनिङ्सको अन्तिम बलमा ललितले कीमो पाउललाई १ रनमा बोल्ड गरे । जेसन होल्डर १६ रनमा अविजित रहे ।
नेपालले सुपर सिक्समा प्रवेश गर्न ९ गते नेदरल्याण्डलाई पराजित गर्नै पर्ने बाध्यता बनेको छ । पहिलो खेलमा नेपाल जिम्बाबेसँग पराजित भएको थियो । दोस्रो खेलमा अमेरीकालाई ६ विकेटले हराएको थियो ।