६ असार, बैंगलुरु । १४औं साफ च्याम्पियनसिपअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले आज कुवेत बिरुद्ध खेल्दैछ । खेल पौने ४ बजे शुरु हुनेछ ।
भारतको बैङलोरमा हुने खेलका लागि प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले कुवेतसँग खेल्ने नेपाली टिम सार्वजनिक गरेका छन् । कुवेतविरुद्ध कप्तान किरणकुमार लिम्बु, अनन्त तामाङ, रोहित चन्द, विमल पाण्डे, सनिश श्रेष्ठ, एरिक विष्ट, पुजन उपर्कोटी, लाकेन लिम्बु, अन्जन विष्ट, नवयुग श्रेष्ठ र मनिष डाँगी पहिलो रोजाईमा खेल्नेछन् ।
प्रशिक्षक एनेसले गत जेठ ३२ मा फिलिपिन्ससँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलेको टिमबाट एकजना परिवर्तन गरेका छन् ।
कुवेत नेपाल भन्दा बलियो टोली भएकाले कम तयारी गरेको नेपालले उपयुक्त रणनीतिका साथ खेलेमा मात्रै रोक्न सक्नेछ । अहिलेसम्म ९ खेल खेलेकोमा ८ खेलमा पराजित भएको छ भने १ खेल बराबरीमा सकिएको छ ।