६ असार, बेंगलुरु । बेंगलुरुस्थित कान्तरभा स्टेडियममा बुधबार कुवेतविरुद्ध मैदान उत्रँदै नेपालले १४ औं संस्करणको साफ च्याम्पियनसिप यात्रा सुरु गर्दैछ । खेल पौने ४ बजेपछि हुनेछ । पहिलो पटक साफ च्याम्पियनसिपमा नेपाली टिम हेरिरहेका इटालियन युवा प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले कुवेत विरुद्धको खेल राम्रो नतिजा ल्याउने रणनीति बनाएका छन् ।
उनले टिमले राम्रो प्रदर्शन गर्ने विस्वास गरेका छन् । खास गरी उनले टिममा युवाहरुलाई बढी अवसर दिएका छन् ।
यस पटक तयारी कम भएकाले पनि नेपाली टोलीले उपाधी जित्नेमा समर्थकहरु शंसकित छन् । तैपनि नेपाली टिमको प्रदर्शन उल्लेखनीय हुने अपेक्षा भने गरिएको छ । ३८ वर्षीय इटालियन नागरिक भिनसेन्चो नेपालको प्रशिक्षक बनेको जम्मा साढे तीन महिना मात्र भएको छ ।
मिडल इस्ट राष्ट्र कुवेत पछिल्लो समय नेपालको लागि परिचित प्रतिद्वन्द्वी जस्तै बनिसकेको छ । २०१९ यता नै नेपालले कुवेतसँग पाँच खेल खेलिसकेको छ । तर नेपालले अन्तर्राष्ट्रिय फुटबलमा कुवेतलाई हराउन सकेको छैन ।
नेपालले अहिलेसम्म कुवेतविरुद्ध ९ खेल खेल्दा एक खेल मात्र बराबरी गरेको छ भने ८ खेलमा पराजित भएको छ । २०१९ मा भएको मैत्रीपूर्ण खेलमा नेपालले कुवेतलाई उसैको मैदानमा गोलरहित बराबरीमा रोकेको थियो ।
पछिल्लो पटक २०२२ मा भएको एसिया कप छनोटमा नेपाल कुवेतसँग ४–१ ले पराजित भएको थियो । उक्त खेलमा नेपालका लागि दर्शन गुरुङले गोल गरेका थिए ।
कुवेत आमन्त्रित टिमको रुपमा पहिलो पटक साफ च्याम्पियनसिप खेल्दैछ ।
पहिलो पटक साफमा खेल्न बोलाएको कुवेतका पोर्चुगिज प्रशिक्षक रुई बेन्टोले साफलाई धन्यवाद दिएका छन् र यस प्रतियोगितामा केही उपलब्धि हासिल गर्ने लक्ष्यमै कुवेती टिम बेंगलुरु आएको उनले बताएका छन् ।
किरण चेम्जोङको कप्तानीमा नेपाली टिम मैदानमा उत्रनेछ । नेपाल रहेको समुहमा भारत, पाकिस्तान पनि रहेका छन् ।