कञ्चनपुर असाढ ६ । सुदूरपश्चिम प्रदेश सरकारले बुधबार शोक बिदा दिने निर्णय गरेको छ । मंगलबार बझाङमा भएको सवारी दुर्घटनामा निधन भएका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको शोकमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ‘आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद्को बैठकले बुधबार शोक बिदा दिने र राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय भएको छ ।’
मन्त्री भईसके पछि पहिलो पटक गृहजिल्ला बझाङ जाँदै गर्दा मन्त्री सिह सवार सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी बझाङको केदारस्युँ गाउँपालिकाको धारछडा नजिकै दुर्घटना भएको थियो ।
सँगै दुर्घटनामा परेका मन्त्री पत्नी अमृता सिंह र भाउजू जयादेवी सिंहको बझाङको देउरा प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको थियो भने गम्भीर घाइते भएका मन्त्री सिंहलाई नेपाली सेनाको हेलिकप्टरमार्फत कोहलपुर मेडिकल कलेज लगिएको थियो । अस्पताल पुर्याएको लगत्तै मन्त्री सिंहलाई मृत घोषणा गरिएको थियो ।