असार ४ विराटनगर । पूर्वी पहाडी जिल्लाहरुमा अविरल बर्षापछि आएको बाढी र पहिरोले वितण्डा मच्चाएको छ । विभिन्न जिल्लामा गरी हाल सम्म विपदमा परेर पाँच जनाको मृत्यु भएको छ । अझै २८ जना वेपत्ता रहेको प्रहरीले जनाएको छ ।
बाढीले ताप्लेजुङ पाँचथर जोड्ने पुल भत्काँउदा सडक यातायात प्रभावित बनेको छ । अन्य दर्जनौँ पुल र सडकहरुमा क्षति पुगेको छ । यसले यातायात प्रभावित बनेको छ ।
बाढीले पाँचथरमा दुई, ताप्लेजुङमा एक जना, संखुवासभामा एक जना र धनकुटामा एक जनाको मृत्यु भएको छ । यसै गरी संखुवा सभामा २१ जना अझै वेपत्ता छन् । पाँचथरमा ४ जना र ताप्लेजुङमा तीन जना वेपत्ता रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
संखुवासभाको चैनपुर नगरपालिका–४ मा निर्माणाधीन ६ मेगावाटको सुपर हेवा हाइड्रोपावरका १८ जना सम्पर्कविहीन छन् ।
बाढीले निर्माण सामग्री, ढुवानी र सवारीसाधन पनि बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । खेतीयोग्य जमिन बालुवा र हिलोले पुरिएको छ । सभापोखरीमा २ र नुनढाकीमा १ जना बेपत्ता छन् ।