काठमाडौँ असार १ । प्रस्तावित प्रधानन्यायधीश हरिकृष्ण कार्की बिरुद्ध परेको उजुरीमाथिको छलफलपछि आज संसदीय समितिमा सांसदहरुले प्रश्न गर्ने भएका छन् ।
आज बिहान ८ बजे संसदीय सुनुवाई समितिको बैठक बोलाईएको छ । उनले हिजो आफूमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै कार्ययोजना समेत पेश गरेका थिए ।
उनी असार १९ पछि अनिवार्य अवकासमा जानु पर्ने अवस्था भए पनि प्रधानन्यायधीश बन्ने लगभग निश्चित देखिन्छ ।
ईच्छा नहुँदा नहुँदै न्यायधीश बनेको बताएका कार्कीले न्यायलयमा प्रवेश गरेपछि आफूले थुप्रै सुधार गरेको दावी गरेका छन् । २०३९ सालमा कानुनमा स्नातक गरेका कार्कीले २०४० सालमा अधिवक्ताको लाइसेन्स पाएका थिए । त्यसपछि निरन्तर २०७२ सालसम्म वकालत गरेको सुनाए ।
नेपाल बार एसोसिएसनको अध्यक्षको कार्यकाल ३ महिना बाँकी रहँदै महान्यायाधिवक्ताको प्रस्ताव आएको र त्यहाँ सबैसँगको सरसल्लाहमा गएको कार्कीले जानकारी दिए । साढे ३ महिना महान्यायाधिवक्ताको रूपमा काम गरिसकेको अवस्थामा तत्कालीन प्रधानन्यायाधीशको आग्रहमा न्यायाधीश बनेको उनले बताए ।
कार्कीविरुद्ध उजुरी दिएका बहालवाला जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईको उजुरीमा सरकारी वकिल र कानुन व्यवसायीको नेता भएका कार्कीलाई न्यायालयको प्रमुख बनाउन नहुने जिकिर गरिएको छ ।
साथै उनीमाथि कतिपय उजुरीकर्ताले एमालेको पार्टी सदस्यता लिएकाले पनि राजनीतिक दलको मान्छे न्यायधीश बनाउन नहुने तर्क गर्दै आएका छन् ।