जेठ ३२ काठमाण्डौँ । अनलाइन बेटिङ प्लेटफर्मको विज्ञापन तथा प्रचारप्रसार गरेको आरोपमा कलाकाल बल्छी ध्र्रुवेसँगै कलाकार राजु पौडेल (राजु मास्टर) पनि पक्राउ परेका छन् । उनीहरु सहित ८ जना पक्राउ परेका हुन् ।
उनीहरुलाई बुधबार पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एव् प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।
एसपी रेग्मीका अनुसार पक्राउ पर्नेमा मरिचमान श्रेष्ठ (बल्छी धुर्वे) , राजु पौडेल, पवन खतिवडा, एलिश राई, ज्वलन घर्तीमगर, गणेश देवकोटा, सरोज घिमिरे र वेगम नेपाली रहेका छन् । प्रहरीले बुधबार पनि वानएक्स बेटमार्फत एक अर्ब बढीको सट्टेबाजी गराउने पाँच एजेन्टलाई सार्वजनिक गरेको थियो ।
पछिल्लो समय सामाजिक सञ्जालमा बेटिङ तथा क्यासिनो गेमिङ एपहरूको प्रचार तीव्र रूपमा हुन थालेपछि प्रहरीले त्यस्तो कार्यमा संलग्न व्यक्तिमाथि कारबाहीको तयारी थालेको हो ।
पक्राउ परेकाले युट्युबबाट वानएक्स एपमार्फत बेटिङको प्रचार गरेको आरोप प्रहरीको छ । युट्युबमा प्रोमो कोड प्रयोग गरी वानएक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै विज्ञापन देखिएको छ ।