काठमाडौँ जेठ २७ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पुराना राजनीतिक दल र नेताका विरुद्ध अभियान संचालन गर्न खोजिएको आरोप लगाएका छन् ।
काठमाडौंमा शनिबार नेपाल निजामती कर्माचारी संगठनले आयोजना गरेको दोस्रो राष्ट्रिय महिला भेलाको उद्घाटन गर्दै ओलीले पुराना दल र नेताविरुद्ध अभियान संचालन गर्न खोजिएको बताएका हुन् । विगतका शासनमा बोल्न पनि नपाइने अवस्थालाई संघर्षबाट ल्याएको उनको भनाइ थियो ।
अहिले पुरानाहरूका विरुद्ध एउटा अभियान संचालन गर्न खोजिएको छ, योगदानका विरुद्ध अभियान संचालन गर्न खोजिएको छ, त्यागका विरुद्ध अभियान संचालन गर्न खोजिएको छ, संघर्षका विरुद्ध अभियान संचालन गर्न खोजिएको छ, उनले भने ।
“ दृढ र अनवरत संघर्ष स्वरुप आजको अवस्थामा आइपुगेका हौं । त्यो उनीहरूले बुझ्न सकेका छैनन् । सानो बलिदानबाट हामी आइपुगेका छैनौं, उनले भने, यो त्यत्तिकै आएको होइन । असभ्य, अमर्यादित तरिकाको बाढी बगाउन खोजिएको छ ।”