जेठ २१ काठमाण्डौँ । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुमाथि थुनछेक बहस शुरु भएको छ । न्यायधीश प्रेम प्रसाद न्यौपानेको ईजलाशमा बहस शरु भएको हो । आज सरकारी वकिलहरुले बहस गर्नेछन् ।
त्यसपछि आरोपीहरुको तर्फबाट कानुन व्यवशायीले बहस गर्नेछन् । यो बहस सकिन र आदेश आउन कम्तीमा १० दिने लाग्ने भएको छ । १८ जना अभियुक्तलाई नै अदालतमा पुर्याईएको छ ।
दुबै पक्षको बहस पैरवी सकिएपछि न्यायधीशले आदेश दिनेछन् । जेठ ३१ गते अभियुक्तहरुलाई थुनामा पठाउने वा धरौटीमा रिहा गर्ने फैसला हुनेछ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री तथा नेपाली काँग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँणको पक्षमा बहस गर्न एक दर्जन बढी कानुन व्यवसायीहरु इच्छुक देखिएका छन् ।
काठमाडौं जिल्ला अदालतमा आजदेखि शुरु भएको थुनछेक बहसमा खाँणको बचाउमा दुई पूर्वमहान्यायधिवक्ता र नेपाल बार एशोसियशनका अध्यक्षलगायतले बहस गर्न चाहेका हुन । जसअनुसार शेरबहादुर देउवा प्रधानमन्त्री हुँदाका बखत महान्यायाधिवक्ता रहेका खम्मबहादुर खाती र अर्का पूर्वमहान्यायाधिवक्ता महादेव यादव, बारका वर्तमान अध्यक्ष गोपालकृष्ण घिमिरे, पूर्वअध्यक्षद्वय शेरबहादुर केसी र प्रेमबहादुर खड्कालगायत वरिष्ठ अधिवक्ताले बहस गर्न नाम टिपाएका छन् ।
खाँणको पक्षमा बहस गर्न नाम टिपाएकामा पूर्वमहान्यायाधिवक्ताद्वय, बारका वर्तमान र पूर्वअध्यक्षहरु नेपाली काँग्रेस निकट कानुन व्यवसायीका रुपमा चिनिन्छन् ।
सोही प्रकरणका अर्का अभियुक्त पूर्वउपप्रधानमन्त्री एवम् एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीको पक्षमा केपी ओली प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता रहेका रमेश बडाल लगायत वकिलले बहस गर्ने छन् ।