काठमाडौं। कर फर्छ्योट आयोगको भ्रष्टाचार मुद्दामा सहसचिव चुडामणि शर्मालाई विशेष अदालतले दोषी ठहर गरेको छ। शर्माले गैरकानुनी सम्पत्ति आर्जनमा सफाइ पाएको र राजश्व चुहावटमा कसुर ठहर भएको विशेष अदालतका प्रवक्ता दिपेन्द्रनाथ योगीले जानकारी दिए।
‘गैरकानुनी सम्पत्ति आर्जनमा सफाइ पाउनु भएको हो। राजश्व चुहावटमा कसुर ठहर भएको छ,’ योगीले भने। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा शर्मासहित आयोगका ३ पदाधिकारीलाई दोषी ठहर गरिएको हो।
कसुर भने निर्धारण नगरिएको योगीले बताए। कसुर निर्धारणका लागि २५ गतेका लागि पेशी तोकिएको उनले बताए।
विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरु यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले आयोगका सदस्य शर्मा, अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकाललाई दोषी ठहर गरेको छ।
यता , विशेष अदालतले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसहित तीनजनालाई भ्रष्टाचार मुद्दामा सजाय सुनाएको छ। बिहीबार विशेषका सदस्यद्वय बलभद्र बाँस्तोला र खुसीप्रसाद थारूको इजलासले यस मुद्दामा फैसला गर्दै ८ प्रतिवादीमध्ये तीनजनामाथि कसुर कायम गरेको हो।
विशेषका उपरजिस्ट्रार दीपेन्द्रनाथ योगीले भने, ‘प्रतिवादीहरू बलभद्रप्रसाद दास, अरविन्दकुमार सिन्हा र नन्दकुमार थापालाई जनही १र१ वर्ष कैद र २५र२५ हजार रुपैयाँ जरिवाना भराउने फैसला भएको छ।’ दास प्रतिष्ठानका तत्कालीन उपकुलपति हुन् भने सिन्हा अस्पतालका निर्देशक तथा थापा रजिस्ट्रारका रूपमा कार्यरत थिए।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३० असार २०७६ मा दोषी ठहर भएका तीनजनाका साथै प्रतिष्ठानका रजिस्ट्रार तुलबहादुर श्रेष्ठ, लेखा प्रमुख दिनेशराज दाहाल र डेपुटी मेनेजर अमित श्रीवास्तवलाई प्रतिवादी बनाई मुद्दा दायर गरेको थियो। साथै, दुई व्यवसायी चेतन अग्रवाल र उमेश अग्रवाललाई समेत प्रतिवादी कायम गरिएको थियो।