जेठ १० काठमाण्डौँ । घरेलु मैदानमा जारी काभा महिला भलिबल च्यालेन्ज कपमा आज आयोजक नेपाल र भारत भिड्दै छन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ।
यसअघि नै सेमिफाइनलमा पुगिसकेका नेपाल र भारतबीचको खेलले समूह विजेताको टुंगो लाग्नेछ। समूह ए मा रहेका नेपाल र भारतले लगातार दोस्रो जित निकाल्दै एक खेलअगावै अन्तिम चारमा स्थान बनाइसकेका छन्।
नेपाल आजको खेलमा उपाधि दाबेदार भारतलाई हराउँदै समूह विजेताका रुपमा अन्तिम चारमा स्थान बनाउन चाहन्छ। नेपालले भारतलाई आजसम्म हराउन सकेको छैन।
नेपालले पहिलो खेलमा किर्गिस्तानलाई २५–११, २५–१९ र २५–११ को सोझो सेटमा हराएको थियो। समूह चरणको दोस्रो खेलमा बंगलादेशलाई २५–१०,२५–८ र २५–९ को सोझो सेटमा पाखा लगाउँदै नेपालले अन्तिम चारमा स्थान पक्का गरेको हो।
आजै हुने अन्य खेलमा समूह एको अन्तिम खेलमा बंगलादेश र किर्गिस्तान प्रतिस्पर्धा गर्नेछन्। समूह बीका उज्वेकिस्तान र काजकिस्तान तथा श्रीलंका र मालदिभ्स खेल्नेछन्।
आजको खेलबाट समूह विजेता र उपविजेताको टुंगो लाग्नेछ।
समूहका शीर्ष २ टोलीले फाइनल प्रवेशका लागि स्पर्धा गर्दा पुछारका दुई टोलीले वरीयताका लागि संघर्ष गर्नेछन्।