जेठ ९ काठमाण्डौँ । जिम्बावेमा आगामी महिना हुने आइसिसी क्रिकेट विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेपाल विश्वकपको दुई पटकको विजेता वेष्ट ईन्डिज रहेको समुहमा परेको छ ।
१० टिमले भाग लिने प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ। समूहमा नेपालसहित, दुई पटकको विश्व विजेता वेस्ट इन्डिज, आयोजक जिम्बावे, नेदरल्यान्ड्स र अमेरिका परेका छन्।
समूह ‘बी’ मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र युएई रहेका छन्।
नेपालले आफ्नो पहिलो खेल असार ३ गते आयोजक जिम्बावेसँग खेल्नेछ। यस्तै नेपालले असार ५मा अमेरिका, असार ७ मा वेष्ट इन्डिज र असार ९ मा नेदरल्यान्ड्ससँग खेल्नेछ।
यो समुहको शीर्ष तीन भित्र परे नेपालले सुपर सिक्स खेल्न पाउनेछ ।
सुपर सिक्समा शीर्ष २ मा परे नेपाल विश्वकपका लागि छनौट हुनेछ । छनोटका लागि नेपालले २२ सदस्यीय प्रारम्भिक टिम घोषणा गरेर आजदेखि तयारी थालेको छ।
प्रारम्भिक टिममा कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान) , कुशल मल्ल, आरिफ शेख, दिपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, ललित राजवंशी, प्रतिश जिसी, अर्जुन साउद, सन्दीप जोरा, देव खनाल, किशोर महतो, सूर्य तामाङ, कमलसिंह ऐरी, श्याम ढकाल र अभिनास बोहरा छन्।
प्रतियोगिताको अन्तिम तयारी गर्न नेपाली राष्ट्रिय क्रिकेट टिम आगामी साता दक्षिण अफ्रिका जाँदैछ। नेपालले दक्षिण अफ्रिकामा दश दिन तयारी गर्नेछ।