जेठ ७ काठमाण्डौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका अभियुक्तहरुमाथिको अनुसन्धान प्रतिवेदन प्रहरीले आज सरकारी वकिलको कार्यलयलाई बुझाउदैछ ।
प्रहरीले पक्राउ परेका १६ जना अभियुक्तहरुमाथि बयान लिएर अनुसन्धान पूरा गरेको छ । प्रहरीले राज्य विरुद्धको कसुर, संगठित अपराध र ठगी जस्ता प्रकरणमा मुद्धा चलाउन सुझाव दिएको छ ।
८ सय बढी नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरीका पठाउने भन्दै ठूलो रकम यो गिरोहले उठाएको पुष्टी भएको छ ।
पक्राउ पर्नेमा एमाले सचिव तथा पूर्व उपप्रधान तथा गृहमन्त्री टोप बहादुर रायमाझी, काँग्रेस नेता तथा पूर्व गृहमन्त्री वालकृष्ण खाँड, उपराष्ट्रपति कार्यलयका सचिव टेक नारायण पाण्डे, बादलका सल्लाहकार डा. ईन्द्रजीत राई, भुटानी अधिकारवादी नेता टेकनाथ रिजाल सहित छन् ।
केही अझै पक्राउ पर्न बाँकी छ् भने केहीमाथि अनुसन्धान दोस्रो चरणमा गर्न सक्ने प्रहरीले संकेत दिएको छ ।
आज सरकारी वकिलको कार्यलयले प्रतिवेदन पाएपछि मुद्धा तयारी थाल्नेछ । सरकारी वकिलको कार्यलयले मंगलबार जिल्ला अदालत काठमाण्डौँमा मुद्धा दर्ता गर्नेछ ।
त्यसपछि थुनछेक बहस शुरु हुनेछ ।