बैशाख २२ काठमाण्डौँ । ‘दोषी छैन, प्रहरीलाई सघाउँछु’ भन्दै बुधबार अर्घाखाँचीबाट हिँडेका रायमाझी बाटोबाटै फरार भएका छन् । उनी छोरासँगै भैरहवा विमानस्थलबाट काठमाण्डौँ आउने तयारीमा थिए । तर पक्राउ पर्ने डरले उनी विमानस्थल गएनन् ।
हिजो एकाएक प्रहरीले पक्राउ गरीसकेको समाचार बाहिरिए पनि आधिकारीक रुपमा प्रहरीले खोजी भईरहेको भनेको छ । नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा संलग्न रहेको भन्दै बुधबार प्रहरीले पक्राउ पुर्जी जारी गरेको समाचार सार्वजनिक हुँदा एमाले सचिव तथा सांसद टोपबहादुर रायमाझी गृहजिल्ला अर्घाखाँचीको एक कार्यक्रममा सहभागी थिए । जसमा सभामुख देवराज घिमिरे प्रमुख अतिथि थिए । कार्यक्रम सकिएपछि पत्रकारहरूसँग ‘आफू र आफ्नो परिवारको कुनै संलग्नता नरहेको तथा प्रहरीलाई सघाउने’ भन्दै काठमाडौंका लागि हिँडेका थिए ।
आफूलाई पक्राउ गर्न लागेको सूचना पाएपछि रायमाझी फरार भएको प्रहरीले जनाएको छ । बिहीबार बिहानैदेखि मोबाइल ‘स्विच्डअफ’ गरेर उनी ‘भूमिगत’ भएका छन् । प्रहरीले बुधबार बेलुका काठमाडौं विमानस्थलबाटै रायमाझीलाई पक्राउ गर्ने योजना बनाएको थियो । उनी सभामुख घिमिरेसँगै बुधबार भैरहवाबाट काठमाडौं फर्किने सूचना पाएर प्रहरी विमानस्थल पुगेको थियो । तर त्यो टिकटै क्यान्सील गरेर उनी फरार भएका छन् । उनका छोरा सन्दीपलाई भने प्रहरीले पक्राउ गरेर थुनिसकेको छ ।
उच्च स्रोतका अनुसार उनले एमाले अध्यक्ष केपी ओली र प्रधानमन्त्री प्रचण्डलाई बचाउको लागि अनुनय गरिरहेका छन् । सो घटनामा अरू धेरैजना अनुसन्धानकै दायरामा रहेको प्रहरीले जनाएको छ । अरू थप १०–११ जना पक्राउ पर्न सक्ने जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीले बताए । प्रहरीले ठगीका साथै संगठित अपराध मुद्दामा अनुसन्धान गरिरहेको छ । स्रोतका अनुसार अन्य उच्चपदस्थको पनि ठगीमा संलग्नता रहेको संकेत देखिएको छ । ती व्यक्तिहरुलाई समेत पक्राउ गर्न गृहमन्त्रीले निर्देशन दिएका छन् ।
पक्राउ परेकामध्ये सानु भण्डारी र केशव दुलालले आफूहरूलाई सघाउने व्यक्तिहरूको प्रमाणसहित पोल खोलेका छन् । तर, नाम खुलाएकामध्ये केही व्यक्तिमाथि मात्र पक्राउ पुर्जी जारी भएको छ । अन्य व्यक्तिहरूको हकमा प्रमाण संकलन भइरहेको प्रहरीले जनाएको छ ।
नीतिगत, कानुनी र राष्ट्रिय ईज्जतमै प्रश्न उठ्ने गरी पैसाका लागि भएको यो चलखेल बिरुद्ध गृहमन्त्रालय र प्रहरीको अप्रेशन निष्कर्षमा पुग्नु जरुरी छ । हाल सम्म पूर्व गृहमन्त्री वादलका सल्लाहकार डा. ईन्द्रजीत राई , नेपाल सरकारका सचिव टेक नारायण पाण्डे सहित ८ जनालाई प्रहरीले पक्राउ गरीसकेको छ ।