काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले निजामती सेवा अस्पताललाई ७ वटै प्रदेशमा विस्तार गर्ने बताएका छन् ।
चीन सरकारको सहयोगमा निर्माण भएको निजामती सेवा अस्पतालको भवन हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् ।
मन्त्री मोदीले निजामती सेवा अस्पतालको सेवा थप विस्तार गर्दै अस्पताललाई ७ वटै प्रदेशमा विस्तार गर्ने तयारी रहेको बताए । उनले अस्पताललाई राष्ट्रसेवक अस्पतालको रुपमा विकास गर्ने समेत बताए । उनले भने, “निजामती अस्पतालमा अब निजामती कर्मचारी मात्रै होइन, सबै तहका जनप्रतिनिधि, राष्ट्रिय खेलाडी, कलाकार, सहिद तथा वेपत्ता परिवारलाई पनि निजामती कर्मचारी सरह उपचारमा छुट दिने तयारी गर्दैछौँ ।”
मन्त्री मोदीले निजामती अस्पतालको नाम समेत राष्ट्रसेवक अस्पताल राख्ने तयारी भइरहेको समेत बताए । उनले अस्पतालको सेवा सुविधा विस्तारमा समेत सरकार लागिरहेको बताए ।
चीन सरकारको सहयोगमा निजामती अस्पतालमा निर्माण सम्पन्न भएको सर्जिकल भवन र पुनर्निर्मित पुरानो भवन नेपालका लागि चिनियाँ राजदूत छेन् सोङ्गले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीलाई भवन हस्तान्तरण गरेका थिए ।