कतार बिरुद्ध जीत निकाल्दै समुह बिजेता बन्यो नेपाल, सन्दीप एक्लैले लिए पाँच विकेट
बैशाख १४ काठमाण्डौँ । एसीसी प्रिमियर क्रिकेट अन्तर्गत समुह चरणको अन्तिम खेलमा नेपाल कतार बिरुद्ध जित हात पार्दै समुह बिजेता बनेको छ । नेपालले दिएको १५८ रनको लक्ष्य बिरुद्ध ब्याटिङमा आएको कतारलाई ८९ रनमा अलाउट गरेपछि नेपाल ६८ रनले बिजयी बनेको हो ।
नेपाललाई जित दिलाउने क्रममा सन्दीप लामिछाने एक्लैले पाँच विकेट लिए । सोमपाल कामीले तीन विकेट लिँदा ललित राजवंशीले दुई विकेट लिएका थिए ।
कीर्तिपुर मैदानमा पहिले ब्याटिङ गरेको नेपालले खराब प्रदर्शन गर्दै १५७ रनमा ४१ औँ ओभरमा अलआउट भएको थियो । नेपालका लागि सन्दीप लामिछानेले अविजित ४२ रनको योगदान दिएपछि मात्रै नेपालले उक्त स्कोर खडा गर्न सफल भएको हो ।
यसै गरी रोहित पौडेलले २७, आशिफ शेखले १९, दिपेन्द्र सिंह ऐरी १२ , आरिफ शेख ११, सोमपाल कामीले ११ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् ।
नेपाललाई सस्तैमा समेट्ने क्रममा अमिर फारुकले सर्वाधिक चार विकेट लिएका थिए ।
नेपालले अब समुह बीको उपविजेतासँग सेमिफाईनलमा प्रतिस्पर्धा गर्नेछ ।