११ बैशाख, काठमाडौँ । फ्लाई दुबईको जहाज अहिले गन्तब्यतर्फ लागेको छ । काठमाडौं विमानस्थलबाट टेकअफ गर्नेबित्तिकै दायाँ इन्जिनमा आगो देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै आकस्मिक अवतरणको तयारी गरिएको फ्लाई दुबईले दुबईको उडानलाई निरन्तरता दिएको छ । सोमबार राति एउटा इन्जिनमा समस्या आएर असामान्य झिल्का र विस्फोटको आवाज सुनिएपनि केहीबेर आकाशमै होल्ड भएर जहाज गन्तव्यतर्फ लागेको हो।
त्रिभुवन विमानस्थलबाट दुबईका लागि उडेको कलसाइन एफजेड ५७६ भएको जहाज उडेको केहीबेरमै समस्याग्रस्त बनेको थियो ।
असामान्य अवस्थाको जहाजले आकासमा केहीबेर फन्को लगाएको थियो । विमानले धादिङको धार्केमाथिको आकाशमा केहीबेर फन्को लगाउँदै आगो नियन्त्रण लिएको थियो । पाइलटले अर्केो इन्जिन ठीक रहेकाले जहाजलाई उडान नियमित गर्न सकिने भनेर विमानस्थलको टावरसँग अनुमति मागेपछि अनुमति दिइएको बताइएको छ ।
यससँगै जहाज गन्तव्यतर्फ लागेको त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए । सम्भावित दुर्घटनालाई ध्यान दिँदै विमानस्थलमा सुरक्षाका आवश्यक सबै तयारी अपनाइएको भएपनि जहाज नफर्किकन सुरक्षित रहेको जनाउसहित दुबईतर्फनै लागेको हो ।
प्राविधिक समस्या देखिएको सो जहाजमा १६९ जना यात्रु रहेका छन् । जसमा १२० विदेशी र ४९ जना नेपाली रहेका छन् ।
यसैबीच संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले फ्लाई दुबई जहाज सुरक्षित आफ्नो गन्तव्यतिर गइरहेको बताएका छन् ।
उनले अब चिन्ता लिनपर्ने अवस्था नरहेको बताएका छन् । ‘फ्लाई दुवई जहाज सुरक्षित आफ्नो गन्तव्यतिर जाँदैछ । कोही चिन्ता नगर्नुहोला । सबैलाई शुभयात्रा’, उनले सामाजिक सञ्जाल मार्फत भनेका छन् ।