काठमाडौँ, वैशाख १० गते । चन्द्रागिरि केबलकारका लट्ठामा झुन्डिएर आकाशमा चल्दै गरेका डिब्बा अचानक रोकिँदा तिनमा फसेका यात्रुको चार घण्टापछि उद्धार गरिएको छ।
सप्ताहान्त मनाउन र भालेश्वर महादेवको दर्शन गर्न शुक्रबार साँझ ६ बजे चढेका झन्डै १५० यात्रु केबलकार एक्कासि बन्द भएपछि आकाशमै अलपत्र परेका थिए। केबलकारमा फसेका यात्रुलाई मानिसले लट्ठा तानेर चार घण्टापछि राति १० बजे तल्लो स्टेसनमा ल्याएर उद्धार गरिएको हो।
सम्भावित दुर्घटना रोकी यात्रुलाई सकुशल उद्धार गर्न प्राविधिक, प्रहरी तथा चिकित्सक टोली खटाइएको थियो। यात्रुको उद्धारपछि चन्द्रागिरि केबलकार कम्पनीले शुक्रबार राति आफ्नै सवारीसाधनमा चढाएर घरघरमा पु–याइदिएको थियो।
हावाहुरीका कारण केबलकारमा समस्या सिर्जना हुँदा समस्या आएको बताईएपनि केवर कारमा पटक पटक यात्रु समस्यामा पर्ने गरेका छन् ।
शुक्रबार साँझ आएको हावाहुरीको गति प्रतिसेकेन्ड ९० मिटर आसपास रहेको र जोडतोडको हावाहुरीसहितको पानीले केबलकारको विद्युत् प्रणालीमा पारेको असरका कारण केबलकार अचानक बन्द भएको पूर्वानुमान कम्पनीले गरेको छ।
केबलकारको समस्या पहिचान गरी पुनः सञ्चालन गर्न निर्माता कम्पनीका इन्जिनियर तथा प्राविधिक टोली शुक्रबार रातिदेखि नै खटिएको कम्पनीले जनाएको छ।
चन्द्रागिरि केबलकारमा देखिएको यो समस्या र यात्रु फसेको घटना यो पहिलो भने होइन। २०७९ असार २२ गते केबलकार बन्द हुँदा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित चार सयभन्दा बढी यात्रु केबलकारका डिब्बाभित्रै फसेका थिए।
त्यसअघि २०७८ चैत १६ गते पनि केबलकार अचानक बन्द हुँदा ३७ जना यात्रु फसेका थिए। २०७५ असारमा पनि केबलकार अचानक बन्द हुँदा विशिष्ट व्यक्तिसहित बालबालिका तथा विदेशी नागरिकसमेत केबलकारमा अलपत्र परेका थिए। त्यस बेला पनि मेसिनले काम नगरेपछि मानिसले हातले ड्राइभ चलाएर फसेका यात्रुको उद्धार गरिएको थियो।
त्यस घटनमा पनि कम्पनीले विद्युतीय आपूर्तिमा समस्या देखाउँदै सुधारका लागि प्रयास गर्ने बताएको थियो तर अहिलेसम्म पनि उस्तै समस्या आइरहेको छ।