बैशाख ८ काठमाण्डौँ । एसीसी प्रिमियर कप अन्तर्गत नेपालले आज ओमानसँग प्रतिस्पर्धा गरिरहेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर नेपालले ब्याटिङको निम्तो पाएको छ ।
आज ओमनलाई हराउनै पर्ने दबाबमा रहेको नेपालले खराब शुरुवात गरेको छ । नेपालले एक रन नजोड्दै ओपनर कुसल भूर्तेललाई गुमाएको छ । बिलाल खानले तेस्रो ओभरमा भूर्तेललाई आउट गरेका छन् ।
च्याम्पियनसिपको उपाधि दाबेदार नेपाल, ओमानलाई हराउँदै सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनाउने योजनामा छ ।
नेपाल आजको खेलमा विजयी भए समूह ए को विजेता बन्दै अन्तिम चारमा प्रवेश गर्ने सम्भावना छ। नेपालसँगै ओमानलाई पनि उपाधि दाबेदार टोलीका रुपमा हेरिएको छ।
पहिलो खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको थियो। नेपाल र ओमानबीचको यो खेलले एक दिवसीय मान्यता समेत पाएको छ। यो खेल नेपालको ५०औँ ओडीआई खेलसमेत हो।